जाँचबुझ आयोगका अधिकारी ओलीको डेरामा, 'चिया'सँगै दिए लिखित बयान
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यालयमै बोलाएर बयान लिने दाबी गरिरहेको जाँचबुझ आयोगको टोली उनको डेरामा पुगेर लिखित जानकारी लिएर फर्किएको छ। ओलीले निरन्तर आयोगमा बयान दिन जान अस्वीकार गरेपछि अन्तमा जाँचबुझ आयोगकै टोली ओलीको बालकोटमा रहेको डेरामा पुगेर भदौ २३ र २४ को घटनाबारे लिखित जानकारी दिएर फर्किएको हो।
आयोगले बयान लिने तयारी गरे पनि ओलीले लिखित रूपमा आफ्नो भनाई आयोगका अधिकारीलाई दिएका छन्। ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिनका लागि सरकारले गठन गरेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगलाई प्रारम्भदेखि नै अवैध भन्दै आलोचना गर्दै आएका थिए।
ओलीलाई आयोगको सिंहदरबारमा रहेको कार्यालयमै बोलाएर बयान लिन नसकिने र जवरजस्ती गर्दा बनिसकेको निर्वाचनको माहोल बिग्रिने जोखिम देखेपछि आयोग पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत परामर्श गरेर ओलीकै डेरामा गएर लिखित जानकारी लिएको हो।
आयोगको अध्यक्षले पहिल्यै सामाजिक सञ्जालबाट निर्णय सुनाइसकेको भन्दै ओलीले आयोगलाई अस्वीकार गरे पनि पछिल्लो समय आफ्नो घरमा आए चिया खुलाएर पठाउने बताएका थिए। तत्कालीन गृहमन्त्री रमेश लेखक भने आयोगको कार्यालयमै गएर लिखित बयान दिएर आएका थिए।
पुष २०, २०८२ आइतबार १९:५२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।