जेनजी आन्दोलनमा भागेका कैदी-बन्दी र लुटिएका हतियार खोज्न विशेष अप्रेसन चलाइने

जेनजी आन्दोलनमा भागेका कैदी-बन्दी र लुटिएका हतियार खोज्न विशेष अप्रेसन चलाइने

काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठकले जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरूको पक्राउ गर्ने अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। आइतबार गृह मन्त्रालयमा बसेको बैठकमा निर्वाचन सुरक्षाबारे भएको छलफलपछि फरार कैदी बन्दी खोज्न सुरक्षा निकायहरूको विशेष अपरेसनलाई थप क्रियाशील बनाउने निर्णय भएको हो।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षा सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिँदै फरार कैदी बन्दी र लुटिएका हतियार खोज्न विशेष अप्रेसनलाई तीव्र बनाउन निर्देशन दिएका हुन्।

बैठकमा विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मलाई लक्षित गरेर सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्याउनेलाई तत्काल पक्राउ गर्ने विषयमा समेत छलफल भएको थियो।

जिल्लाहरूमा देखिएका केही धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्ने व्यक्ती वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने र स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन निर्देशन दिनेबारे समेत छलफल भएको थियो।

बैठकले धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक राख्ने निर्णय समेत गरेको छ।

पुष २०, २०८२ आइतबार १९:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।