टिकटकको भिडियोले जनकपुर अशान्त, केन्द्रमा सुरक्षा समिति बैठक

टिकटकको भिडियोले जनकपुर अशान्त, केन्द्रमा सुरक्षा समिति बैठक

काठमाडौँ : टिकटकमा आएको भिडियोका कारण जनकपुरमा दुई धार्मिक समुदायका युवाबिच तनाव बढेपछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयमा समितिको बैठक राखेका हुन्। बैठकको मुख्य अजेण्डा देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र सुरक्षा रणनीति बनाउन केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले बताएको छ।

शनिवार टिकटकमा दुई मुस्लिम युवकले रक्षा बन्धनको विषयलाई लिएर टीकाटिप्पणी गरेको विषयबाट तनाव सुरु भएको थियो। शनिवार जनकपुरका केही हिन्दु युवाले कमला नगरपालिकामा रहेको एक मस्जिदमा तोडफोड गरेको र कुरान जलाएको भन्दै विरगंन्जमा मुस्लिम युवाहरूले विरोध गरे।

टिकटकमा टिप्पणी गर्ने र मस्जिद तोडफोडमा संलग्नलाई प्रहरी पक्राउ गरे पनि त्यसको असर देखिएपछि केन्द्रमै सुरक्षा बैठक राखिएको हो। आइतबार बिहानैदेखि मुस्लिम युवाहरूले मस्जिद र कुरान जलाउने युवाहरूलाई पक्राउ गर्न माग गर्दै घण्टाघर, छपकैया, मुरलीचोकमा टायर बालेर प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीले उकेरालाई जानकारी दिए।

उनले भने, “अहिले माहोल कन्ट्रोल भएको छ। तर पनि हामीले यसलाई गम्भीर रूपमा लिएका छौँ। हाम्रो तर्फबाट पहल पनि गरेको छौँ। युवाहरूले घण्टाघर, मुरलीचोकमा टायर बालेर विरोध गरेका थिए” उनले भने।

पुष २०, २०८२ आइतबार १५:१०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।