‘गोबर गणेश’को ट्रेलर र गीतलाई मिलयन भ्युज
काठमाडौं : हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशन तथा मुख्य भूमिका रहेको चलचित्र ‘गोबर गणेश’को ट्रेलर र गीतले युट्युबमा ‘मिलयन भ्युज’ पार गरेका छन्।
ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरमा गाउँबाट सहर छिरेको एक युवकको सङ्घर्ष र आमा-छोराको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। ‘गोबर गणेश’को ट्रेलर युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड ‘ओ हेलो हाई हाई’ बोलको गीत पनि यति बेला निकै लोकप्रिय बनेको छ। यो मरिचमानको डेब्यु निर्देशित फिचर फिल्म हो। यसअघि उनले ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता सफल टेलिचलचित्र निर्देशन गरिसकेका छन्।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्मित यस चलचित्रमा वर्षा सिवाकोटी, बुद्धि तामाङ, माओत्से गुरुङ, निर्मल शर्मा, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ। शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको यो चलचित्र आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदै छ।
पुष २०, २०८२ आइतबार १३:५८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।