दिल्ली जानुअघि प्रचण्डले गरे ओलीसँग भेटवार्ता, के विषयमा भयो छलफल ?
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आइतबार भेटवार्ता भएको छ। आगामी निर्वाचनको तयारी र समसामयिक राजनीतिक परिस्थितिका बारेमा दुई नेताबीच ललितपुरको च्यासलस्थित एक निजी निवासमा एक्लाएक्लै छलफल भएको हो।
भेटमा मुख्यगरी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएर संवाद भएको थियो। राष्ट्रिय सभाका १८ सिटका लागि हुने निर्वाचनमा प्रमुख दलहरूबीच तालमेल गर्ने विषयमा छलफल भएको छ।
प्रचण्डको सचिवालय सदस्य गोविन्द आचार्यका अनुसार निर्वाचनको वातावरण र चुनावी तालमेलको विषयमा दुई नेताबीच छलफल भएको जानकारी दिए। प्रचण्ड आइतबार भारतको नयाँ दिल्ली जाँदै छन्। दिल्ली जानुअघि उनले ओलीसँग भेट गरेका हुन्। यसअघि शनिबार भेट्ने तय भए पनि प्रचण्ड सङ्खुवासभाको तुम्लिङटारबाट फर्कन ढिला भएकाले वार्ता आइतबारलाई सरेको थियो।
प्रचण्डले फागुन २१ को निर्वाचनलाई सफल बनाउन सबै प्रमुख दलहरूले संविधानलाई सही दिशामा ल्याउनुपर्नेमा जोड दिइरहेका छन्। एमाले अध्यक्ष ओलीले भने सरकारले निर्वाचनको उचित वातावरण बनाउन तत्परता नदेखाएको आरोप लगाउँदै आएका छन्। नेताहरूमाथि लगाइएको 'स्थानहद' लगायतका कारणले निर्वाचन प्रक्रिया सहज नभएको ओलीको भनाइ छ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदै छ। जसमा एक जना राष्ट्रपतिबाट मनोनीत (वामदेव गौतम) हुन् भने बाँकी १८ सिटका लागि माघ ११ मा निर्वाचन हुने कार्यतालिका छ। प्रमुख दलहरू एक्लाएक्लै लड्दा अन्तर्घातको जोखिम हुने र शक्ति सन्तुलन बिग्रने डरका कारण एमाले, कांग्रेस र नेकपाबीच साझा सहमति खोज्ने प्रयास भइरहेको नेताहरूको दाबी छ। यद्यपि, चुनावी तालमेल र सिट बाँडफाँटको विषयमा ठोस टुङ्गो लाग्न भने बाँकी नै छ।
पुष २०, २०८२ आइतबार १३:१३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।