जेन-जी आन्दोलन लोकतन्त्रका लागि हो?
सर्वेक्षणका तथ्याङ्कहरूले प्रायः जेन-जी (जसमा १३ देखि २८ वर्षका युवाहरू पर्दछन्) राजनीतिबाट टाढा रहेको र लोकतन्त्रप्रति निराश भएको देखाउँछन्। यद्यपि, विश्वभर प्रभावहीन सरकारहरूलाई जवाफदेही बनाउन र परिवर्तन ल्याउन युवा परिचालन नै हालैका प्रयासहरूको प्रमुख विशेषता बनेको छ। यसै वर्ष मात्रै, इन्डोनेसियादेखि केन्या र मेडागास्करदेखि पेरुसम्म "जेन-जी विरोध" को लहर चलेको छ। यसका परिणामहरू मिश्रित छन्: युवा नेतृत्वका विद्रोहले सरकार ढालेका छन्, सुधारका लागि बाध्य पारेका छन् र कतिपय ठाउँमा हिंसात्मक झडप एवं दमनहरू निम्त्याएका छन्। सर्बिया जस्ता केही देशमा युवा नेतृत्वको सङ्घर्ष अझै जारी छ।
आजका जेन-जी विरोध प्रदर्शनहरूले एउटा दीर्घकालीन प्रवृत्तिलाई पछ्याउँछन्: विरोध आन्दोलनहरू प्रायः युवाहरूद्वारा सञ्चालित हुन्छन्। एउटा अध्ययन अनुसार, १९९० र २०२० को बीचमा राष्ट्रिय नेताहरूलाई हटाउन वा आत्मनिर्णयको अधिकार प्राप्त गर्न गरिएका ८० प्रतिशत अहिंसात्मक अभियानहरूमा युवाहरूको उल्लेख्य सहभागिता थियो, जहाँ अग्रपंक्तिमा रहेका सहभागीहरूमध्ये कम्तीमा एक चौथाइ ३० वर्ष मुनिका थिए।
२००१ मा फिलिपिन्समा जोसेफ एस्ट्राडालाई सत्ताच्युत गर्ने दोस्रो 'पिपल पावर' आन्दोलन, २००५ मा लेबनानबाट सिरियाली सेनालाई हटाउने 'सिडर क्रान्ति' र २०१९ मा ओमार अल-बशीरलाई सत्ताबाट हटाउने सुडानी विद्रोह युवाहरूको सक्रिय सहभागिताका केही उदाहरण हुन्।
स्थापित शासन पद्धतिप्रति युवाहरूको मोहभङ्ग हुनु एउटा पाटो भए तापनि, शक्तिशाली सत्तालाई चुनौती दिन युवा परिचालनको सामर्थ्य उत्तिकै स्पष्ट छ।
जेन-जी विरोधका चालक शक्तिहरू के हुन् र यी आन्दोलनहरू विगतका अभियानहरूसँग कसरी तुलना हुन्छन्? के युवा कार्यकर्ताहरूले निरङ्कुशताको लहरलाई चुनौती दिएर लोकतान्त्रिक परिवर्तनको नयाँ लहर ल्याउनेछन् वा उनीहरू रोकिनेछन्? र के यो सबै लोकतन्त्रकै लागि मात्र हो त? आगामी वर्षहरूका लागि बढ्दो युवा परिचालनले के संकेत गर्छ?
विद्रोहको जड लोभ
युवाहरूलाई आन्दोलनमा प्रेरित गर्ने धेरै कारकहरू छन्। युवाहरू आर्थिक अनिश्चितताप्रति बढी संवेदनशील हुन्छन्; सुस्त अर्थतन्त्रले उनीहरूलाई दीर्घकालीन बेरोजगारीमा फसाउँछ र शिक्षित स्नातकहरूको समेत प्रगति गर्ने सपना चकनाचुर पारिदिन्छ।
२०१० मा ट्युनिसियामा यस्तै भएको थियो, जहाँ आर्थिक मन्दी, दमन र सरकारी दुरुपयोगका कारण सडक व्यापारी मोहम्मद बौआजिजीको आत्मदाहपछि आक्रोशित युवाहरू विद्रोहमा उत्रिए, जसले 'अरब स्प्रिङ' को सुरुवात गर्यो।
यसका साथै, औपचारिक संस्थागत राजनीतिमा युवाहरूको प्रतिनिधित्व ज्यादै कम छ, किनकि वृद्धतन्त्रमा आधारित राजनीतिक प्रणालीले युवा पुस्तालाई शक्तिबाट बाहिर राख्छ।
जेन-जी विरोध भएका धेरै देशहरूमा कमजोर अर्थतन्त्र, उच्च युवा बेरोजगारी र वृद्ध राजनीतिक नेतृत्व छ। उदाहरणका लागि, नेपालमा युवा बेरोजगारी करिब २० प्रतिशत र मोरक्कोमा ३५ प्रतिशत जस्तो डरलाग्दो अवस्थामा छ; दुवै देशको अर्थतन्त्र कोभिड-१९ को धक्काले थलिएको छ।
जेन-जी विरोधको वास्तविक नारा "भ्रष्टाचार" देखिन्छ। युवाहरू ती राजनीतिक सम्भ्रान्त वर्गसँग क्रुद्ध छन् जसले देश सङ्कटमा हुँदा पनि निर्लज्जतापूर्वक विलासी सुविधा भोगिरहेका छन्।
नेपालमा, "नेपो किड्स" (धनीका छोराछोरी) ले विलासी उपहारहरू प्रदर्शन गरेका भाइरल तस्बिरहरूले जनआक्रोश पैदा गर्यो। इन्डोनेसियामा, सांसदहरूले न्यूनतम ज्याला भन्दा कैयौँ गुणा बढी आवास भत्ता लिइरहेको खुलासा भएपछि विरोध सुरु भयो।
सर्बियामा, २०२४ मा नोभी साद रेलवे स्टेसन भत्किएर दर्जनौँको ज्यान गएपछि भ्रष्टाचार र लापरबाही विरुद्ध युवाहरू सडकमा उत्रिए। पेरुमा, संगठित अपराधसँग सरकारको मिलेमतोका कारण भइरहेको हिंसा विरुद्ध न्याय मागियो। फिलिपिन्समा, बाढी राहतका लागि छुट्टाइएको २ अर्ब डलरभन्दा बढी रकम भ्रष्टाचार भएको रिपोर्ट आएपछि विरोध चर्कियो।
यी सबै परिस्थितिमा जेन-जीले सार्वजनिक हितभन्दा आफ्नै सुविधालाई प्राथमिकता दिने लोभी शासकहरू विरुद्ध विद्रोह गरिरहेका छन्।
२०२५ को यो भ्रष्टाचार विरोधी अभियान पहिले एसियामा फैलियो। इन्डोनेसिया, फिलिपिन्स र नेपालका विरोध प्रदर्शनहरू श्रीलङ्का (२०२२) र बंगलादेश (२०२४) का विद्रोहबाट प्रेरित थिए।
यस्ता अभियानहरू विश्वभर फैलिरहेका छन्। मेडागास्करदेखि पेरुसम्मका युवाहरूले जापानी मङ्गा "वन पिस" का पात्रहरूको प्रयोग गरेर भ्रष्ट नेताहरूबाट मुक्तिको प्रतीकका रूपमा प्रदर्शन गरिरहेका छन्। इन्टरनेट र सामाजिक सञ्जालले गर्दा यी विरोधहरू क्षेत्रीय सीमा नाघेर विश्वभर फैलन सजिलो भएको छ।
युवा आन्दोलनले प्राय : जित्छन्, तर मूल्य चुकाउनुपर्छ
अनुसन्धानले देखाउँछ कि युवा सहभागिता बढी भएका अहिंसात्मक आन्दोलनहरू सफल हुने सम्भावना बढी हुन्छ। तथ्याङ्क अनुसार, यदि ५० प्रतिशत भन्दा बढी सहभागी युवा छन् भने आन्दोलन सफल हुने सम्भावना, युवा सहभागिता १० प्रतिशत भन्दा कम भएको आन्दोलनको तुलनामा दोब्बर हुन्छ।
युवा सहभागिता र लोकतन्त्रको सुधारबीच सकारात्मक सम्बन्ध देखिएको छ। विगत ७० वर्षमा दक्षिण कोरियादेखि ताइवान र पूर्वी जर्मनीदेखि ब्राजिलसम्मका लोकतान्त्रिक आन्दोलनमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको छ।
युवा आन्दोलनहरू किन जित्छन् त? विद्वानहरूको तर्क छ कि युवाहरू प्रतिबद्ध कार्यकर्ता हुन्छन्, उनीहरूले नयाँ र रचनात्मक शैली अपनाउँछन् र सामाजिक विभेदहरू चिरेर व्यापक गठबन्धन बनाउन सक्छन्। २०१३-१४ को युक्रेनको मैदान आन्दोलन होस् वा २०१९ को हङकङ आन्दोलन, युवाहरूको सृजनशीलता स्पष्ट देखिएको छ।
यद्यपि, युवाहरूले ठूला अवरोधहरू पनि झेल्नुपर्छ। युवा नेतृत्वका अभियानहरूले कडा दमनको सामना गर्नुपर्ने हुन्छ, यद्यपि उनीहरू आफैँले हिंसा प्रयोग गर्ने सम्भावना कम हुन्छ। निरङ्कुश शासन र सुरक्षा बलले युवाहरूलाई बढी खतराको रूपमा हेर्ने भएकाले उनीहरूलाई हिंसात्मक रूपमा दबाउने प्रयास गरिन्छ।
जेन-जी विरोधमा यो ढाँचा स्पष्ट देखिन्छ:
-बंगलादेश: जुलाई २०२४ मा भएको सरकारी दमनमा सयौँको ज्यान गयो, जसले जनआक्रोश बढायो र अन्ततः प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भइन्।
-केन्या: २०२४ को वित्त विधेयक विरुद्धको प्रदर्शन र २०२५ मा भएका विरोधमा दर्जनौँको ज्यान गएको छ।
-मोरक्को र तान्जानिया: सुरक्षा बलले हजारौँलाई पक्राउ गरेको छ र २०२५ को अन्त्यतिर तान्जानियामा भएको दमनमा एक हजारभन्दा बढीको ज्यान गएको छ।
अझ महत्त्वपूर्ण कुरा, तानाशाही ढाल्न सफल भए तापनि युवाहरूको आर्थिक अवस्थामा तुरुन्तै सुधार आउँदैन। राज्य प्रमुख परिवर्तन गर्नुभन्दा विरोधको जडको रूपमा रहेको सामाजिक-आर्थिक समस्या समाधान गर्नु धेरै कठिन हुन्छ।
जेन-जी आन्दोलन लोकतन्त्रका लागि हो ?
जेन-जी आन्दोलनहरू लोकतन्त्रका लागि सकारात्मक सूचक हुन् भन्ने मानिए तापनि केही पक्षहरूले आदर्शवादी अपेक्षाहरूलाई संयमित बनाउनुपर्ने देखिन्छ
१. अहिंसात्मक अनुशासन: धेरै जेन-जी कार्यकर्ताहरूले सुरुमा शान्तिपूर्ण आन्दोलनको आह्वान गरे तापनि सबै ठाउँमा यो कायम रहन सकेन। नेपालमा, एक शान्तिपूर्ण प्रदर्शन छिट्टै हिंसात्मक दङ्गामा परिणत भयो। आन्दोलनकारीले संसद् भवन र नेताका घरहरूमा आगजनी गरे र दर्जनौँको ज्यान गयो।मोरक्को, केन्या र इन्डोनेसियामा पनि यस्तै दृश्य देखिए। हिंसाले शान्तिपूर्ण कार्यकर्ताहरूलाई किनारा लगाउँछ र आन्दोलनलाई कट्टरपन्थी तत्वहरूले कब्जा गर्ने वा सुरक्षा बलले दबाउने मौका पाउँछन्।
२. विकेन्द्रीकृत आन्दोलन: आधुनिक आन्दोलनहरू प्रायः नेतृत्वविहीन र डिजिटल रूपमा संगठित हुन्छन्। यसले गर्दा आन्दोलनलाई छिटो परिचालन गर्न र दबाउन गाह्रो भए तापनि वार्ताको टेबुलमा बस्न र स्पष्ट प्रतिबद्धता जनाउन कठिन बनाउँछ। नेतृत्व नहुँदा आन्दोलनको भविष्य अनिश्चित हुन सक्छ।
३. के यी "लोकतान्त्रिक" आन्दोलन नै हुन्? जेन-जी आन्दोलनहरू मुख्यतया आर्थिक असमानता, भ्रष्टाचार र नातावाद विरुद्ध हुन्। यी सुशासनसँग सम्बन्धित गुनासोहरू हुन्, तर सधैँ लोकतन्त्रसँग मात्र केन्द्रित हुँदैनन्। मोरक्कोमा युवाहरू राजतन्त्र हटाउन होइन, राम्रो स्वास्थ्य र शिक्षाको माग गरिरहेका छन्। मेडागास्करमा सैन्य कू पछिको सरकारले बिजुली र पानीको समस्या समाधान गरेमा जनताले त्यसलाई स्वीकार गर्न सक्छन्।
४. संक्रमणकालको व्यवस्थापन: सत्ता परिवर्तन पछिको समय अनिश्चित हुन्छ। बंगलादेश अहिले संवैधानिक संकटबाट गुज्रिरहेको छ। नेपालमा, जेन-जी कार्यकर्ताहरूले डिस्कर्ड मार्फत समन्वय गरी रोजेको अन्तरिम सरकारमाथि फागुन २१ मा निष्पक्ष निर्वाचन गराउने ठूलो दबाब छ। सर्बियाका युवाहरूले भने विगत एक वर्षदेखि निरन्तर प्रदर्शन गरेर जबाफदेहिताको माग गरिरहेका छन्।
जेन-जीको उदय
अहिंसात्मक अभियानहरू 'एक क्षण' मात्र नभएर एउटा 'आन्दोलन' हुन्। सफलताका लागि रणनीतिक योजना र निरन्तरता आवश्यक हुन्छ। यो स्पष्ट छ कि जेन-जी अब चुप लागेर बस्न तयार छैनन्। तर आगामी दिनको मुख्य प्रश्न भनेको के जेन-जीले यो विरोधको ऊर्जालाई औपचारिक संस्थागत राजनीतिमा बदल्न सक्छन् भन्ने नै हो।
धेरै युवाहरू राजनीतिक दलहरूप्रति सशंकित छन्, जुन बुझ्न सकिने कुरा हो। तर, न्यूयोर्कमा जोहरान मामदानीको चुनावी अभियानले के देखाएको छ भने, यदि राजनीतिक नेताहरूले युवाका मुद्दामा इमानदारीपूर्वक संवाद गरे भने त्यसले ठूलो परिणाम ल्याउन सक्छ।
अन्ततः, जेन-जीले विश्वव्यापी राजनीतिक जागरणको अनुभव गरिरहेको छ। विश्वभर १० देखि २९ वर्षका करिब २.८ अर्ब युवाहरू छन्। यदि युवाहरूले आफ्नो यो गतिलाई निरन्तर राजनीतिक सक्रियतामा बदल्न सके भने, २०२५ विश्व मामिलामा एक गहिरो पुस्तागत रूपान्तरणको वर्ष बन्नेछ। विश्व लोकतन्त्रको हितका लागि युवाहरूको यो संलग्नता जति छिटो भयो, त्यति नै राम्रो हुनेछ।
(यो जोन हप्किन्स युनिभर्सिटी प्रेसको जर्नल अफ डेमोक्रेसीमा एरिका चेनोवेथ र म्याथ्यु सेबुलले लेखेको Why Gen-Z Is Rising लेखको अनुवाद हो)
पुष २०, २०८२ आइतबार १३:०२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।