'आ बाट आमा'को चर्चित गीत अब नेवारी भाषामा, मदनकृष्णले मिलाए शब्द
काठमाडौं : प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘लैजा खबर ए हावा’लाई नेवारी संस्करणमा पनि रेकर्ड गरिएको छ। नेपाली भर्सनमा चर्चा बटुलेको यस गीतलाई गायक यमन श्रेष्ठले नेवारी भाषामा स्वरबद्ध गरेका हुन्।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतको नेपाली शब्दलाई नेवारीमा अनुवाद गरिदिएका हुन्। नेपाली संस्करणमा बाबुल गिरीको शब्द रचना रहेको गीत रेकर्ड गर्दा आफू निकै भावुक बनेको बताउँदै गायक यमनले बुबा मदनकृष्णको सहयोगले शब्दलाई थप मर्मस्पर्शी बनाइएको उल्लेख गरे।
निर्देशक चन्द्र पन्तले नेवारी समुदाय र सो भाषाका संगीतप्रेमीलाई लक्षित गर्दै प्रचारप्रसारलाई फरक ढंगबाट प्रस्तुत खोजिएको बताए। नेवारी गीत मन पराउनेहरूको लागि यो राम्रो माध्यम हुने उनको विश्वास छ। उनले फिल्मलाई अन्य क्षेत्रीय भाषामा पनि लैजाने तयारी भइरहेको जानकारी दिए।
आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको मुख्य भूमिका रहेको छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्मले वैदेशिक रोजगारी र मातृप्रेमको कथा बोल्छ।
पुष २०, २०८२ आइतबार १२:१५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।