अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रण लिएपछि पोखरेलको टिप्पणी : आधुनिक विश्वका लागि यो स्वीकार्य छैन

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रण लिएपछि पोखरेलको टिप्पणी : आधुनिक विश्वका लागि यो स्वीकार्य छैन

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मदुरोमाथि चालिएको कदमप्रति प्रश्न उठाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले सार्वभौमसत्तासम्पन्न मुलुकको जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिनु र अभियोग लगाउनु अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्रको गम्भीर उल्लङ्घन भएको बताए।

अमेरिकी कदमले विश्व संस्थाहरूको औचित्यमाथि नै प्रश्न उठाएको टिप्पणी गर्दै उनले लेखेका छन्, "संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो। यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन।"

पोखरेलले भेनेजुएलाको पछिल्लो घटनाक्रमले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गरेको बताए। उनले यस्ता हस्तक्षेपकारी विषयमा अमेरिकी समाजभित्रै पनि गम्भीर बहस हुनुपर्नेमा जोड दिए।

उनले भने, "भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ।"

अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्क ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर पुर्याइएको छ। 

पुष २०, २०८२ आइतबार ११:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।