भेनेजुएलामा उपराष्ट्रपति डेल्सीलाई राष्ट्रपतिको कार्यभार

भेनेजुएलामा उपराष्ट्रपति डेल्सीलाई राष्ट्रपतिको कार्यभार

एजेन्सी : भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले सम्हाल्ने भएकी छन्। सर्वोच्च अदालतले राष्ट्रपति मदुरोको अनुपस्थितिमा प्रशासनिक शून्यता हुन नदिन उपराष्ट्रपति डेल्सीलाई कार्यवाहक राष्ट्रपतिको कार्यभार सुम्पिनुपर्ने निर्णय गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, अदालतले 'प्रशासनिक निरन्तरता कायम राख्न र देशको रक्षा सुनिश्चित गर्न' डेल्सीलाई जिम्मेवारी दिनु आवश्यक रहेको भन्यो। अदालतको संवैधानिक इजलासले शनिबार जारी गरेको आदेशमा भनिएको छ, "राष्ट्रपति निकोलस मदुरोको अनुपस्थितिमा डेल्सी रोड्रिग्ज देशको कार्यवाहक राष्ट्रपति हुनेछिन्।"

अदालतले राज्यको समग्र रक्षा र प्रशासनिक सहजताका लागि यो कदम अनिवार्य भएको स्पष्ट पारेको छ। साथै, अदालतले यस विषयमा थप कानुनी छलफल अगाडि बढाउने जनाएको छ। जसअनुसार राष्ट्रपतिको बाध्यात्मक अनुपस्थितिको अवस्थामा देशको निरन्तरता, सरकार सञ्चालन र सार्वभौमसत्ताको रक्षाका लागि कुन कानुनी ढाँचा लागू हुनेछ भन्ने विषय तय गरिनेछ।

अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्क ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर पुर्याइएको छ।

पुष २०, २०८२ आइतबार १०:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।