भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई कहाँ लगियो ?
एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्क पुर्याइएको छ। अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका उनीहरूलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको छ।
मदुरोसँगै उनकी पत्नीलाई सुरक्षा निकायका सवारी साधनहरूको लावालस्करमा डिटेन्सन सेन्टर लगिएको देखिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ।
भेनेजुएलाको राजधानी काराकासमा शनिबार बिहानै भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोलाई 'पक्राउ गरेको' जानकारी सार्वजनिक गरेका थिए।
ट्रम्पले 'यूएसएस इवो जिमा' युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गरेका थिए। राष्ट्रपति ट्रम्पले सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म भेनेजुएलाको शासन सत्ता अमेरिकाले चलाउने बताएका छन्।
मदुरोमाथि न्यूयोर्कमा लागुऔषध र हतियारसम्बन्धी अभियोग दायर गरिएको छ। आफूमाथि अमेरिकाले लगाउँदै आएको लागुऔषध कार्टेलको नेता भएको आरोप मदुरोले अस्वीकार गर्दै आएका छन्। भेनेजुएलाले अत्यन्त गम्भीर सैनिक आक्रमण भएको भन्दै देशभरि राष्ट्रिय आपत्काल घोषणा गरेको छ।
पुष २०, २०८२ आइतबार ०८:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।