नागरिक हक सुनिश्चित नगरेसम्म राज्य बलियो हुँदैन : महासचिव पोखरेल
काठमाडौं : एमाले महासचिव शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिए।
निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले जनतासँग राज्यको सम्बन्ध घनिष्ठ बनाउन सरकारले सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राखे। उनले जनता र राज्यबीचका सम्बन्धलाई जीवन्त बनाउने भूमिका निजामती कर्मचारीको रहेको बताए।
“राज्यलाई बलियो बनाउनका लागि नागरिक हक सुनिश्चित गर्नुपर्दछ। राज्य र जनतालाई जोड्ने काम गर्नुपर्दछ। त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्दछौं,” महासचिव पोखरेलले भने। निर्वाचनलाई सामना गर्न राज्यका प्रमुख अङ्गबीच एकता र सहकार्य आवश्यक रहेकामा उनको जोड छ।
“अहिले राज्य कमजोर अवस्थामा छ। यस्तो बेला राज्य बलियो बनाउने काम निजामती प्रशासनको हो। कमजोर अवस्थामा रहेको राज्यलाई स्थायी सरकारको नेतृत्व गरिरहेको निजामतीले बलियो बनाउने अगुवाइ गर्न सक्दछ,” उनले भने, “मुलुकको वर्तमान र भविष्यका लागि जागरूक तप्काका रूपमा निजामती कर्मचारी रहनुपर्दछ।”
महासचिव पोखरेलले नवयुवा राज्य र राजनीतिक दलसँग असन्तुष्टि रहेका बताउँदै गत भदौ २३ र २४ को घटना यसको उदाहरणका रूपमा रहेका उल्लेख गरे। उनले नवयुवाले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयलाई राजनीतिक नेतृत्वले समाधान गर्ने बताए।
पुष १९, २०८२ शनिबार २१:२९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।