ट्रम्पको दाबीपछि भेनेजुएलाले माग्यो राष्ट्रपति मादुरो दम्पती 'जीवितै रहेको' प्रमाण

ट्रम्पको दाबीपछि भेनेजुएलाले माग्यो राष्ट्रपति मादुरो दम्पती 'जीवितै रहेको' प्रमाण

एजेन्सी : भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको अवस्थाबारे तत्काल प्रमाण सार्वजनिक गर्न माग गरेकी छन्।

सैन्य आक्रामकताको कडा निन्दा गर्दै उनले राष्ट्रपति मादुरो दम्पती जीवितै रहेको प्रमाण दिन माग गरिन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति मादुरोलाई पक्राउ गरेको दाबी गरेपछि उपराष्ट्रपति रोड्रिग्वेजले सरकारसँग उनीहरूको अवस्थाबारे कुनै जानकारी नभएको स्पष्ट पारिन्।

राजधानी कराकासमा भएका शृंखलाबद्ध विस्फोटहरूपछि भेनेजुएला सरकारले देशभर संकटकाल घोषणा गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'ट्रुथ सोसल' मार्फत भेनेजुएलाविरुद्ध ठूलो स्तरको सफल आक्रमण गरिएको दाबी गरेका थिए। उनले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको उल्लेख गरेका छन्। 

बीबीसीमा उल्लेख भएअनुसार, राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको विशेष आतंकवाद विरोधी दस्ता 'डेल्टा फोर्स'ले नियन्त्रणमा लिएको हो। भेनेजुएला सरकारले भने यस घटनालाई सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेप भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ। 

हालसम्म राष्ट्रपति मादुरोको वास्तविक अवस्था र स्थानबारे आधिकारिक पुष्टि हुन बाँकी छ। भेनेजुएलामा भएका आक्रमणहरूबारे अझै धेरै जानकारी सार्वजनिक भइसकेको अवस्था छैन। आक्रमणहरूमा सैन्य पूर्वाधारमा कति क्षति पुग्यो र कति संख्यामा मानिसहरू हताहत भए भन्नेबारे विस्तृत जानकारी सार्वजनिक हुन बाकी छ। 

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले मृतक र घाइतेहरूको विवरण संकलन गरिरहेको जनाएका छन्। उनले अमेरिकी सेनाले सर्वसाधारणको बसोबास रहेको आवासीय क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको आरोपसमेत लगाए।  

पुष १९, २०८२ शनिबार १६:५१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।