कांग्रेसमा हुकुमी शासन चल्यो, कार्यकर्तालाई रैती ठानियो : गुरुराज घिमिरे

कांग्रेसमा हुकुमी शासन चल्यो, कार्यकर्तालाई रैती ठानियो : गुरुराज घिमिरे

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले स्वेच्छाचारी ढंगले संगठन चलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले कांग्रेसभित्र पछिल्लो समय 'विधिहीनता र बेथिति'ले चरम रूप लिएको आरोप लगाए। 

आठ दशक लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा नेतृत्वले पद्धति र विधानको उपहास गरेको घिमिरेको तर्क छ। विशेष महाधिवेशनको माग गर्ने पार्टी सदस्यहरूमाथि नेतृत्वले दुर्व्यवहार र बेवास्ता गरिएको भन्दै उनले वर्तमान नेतृत्वको कार्यशैलीलाई 'तानाशाही'को संज्ञा दिए।

उनले फेसबुकमा लेखेका छन्, "विशेष महाधिवेशनका मागकर्ता पार्टी सदस्यहरू माथि गरिएको बेवास्ता,चरम दुर्व्यवहार र पार्टी विधानको खुला उपहास तथा उल्लंघन हो। महाधिवेशनको कागजी तालिका न्यूनतम रूपमा लागू समेत नगर्ने र स्वेच्छाचारी रूपमा बदल्दा वा समय सार्दा समेत पार्टी सदस्यहरूलाई सामान्य रूपमा अग्रिम सूचनासम्म नदिने प्रवृत्ति सर्वाधिक अलोकतान्त्रिक मात्र होइन, तानाशाहीपूर्ण समेत छ, यो भर्त्सनायोग्य छ।"

कांग्रेसले ७५ वर्षअघि देशबाट हुकुमी शासन अन्त्य गरेको स्मरण गर्दै घिमिरेले अहिले पार्टीभित्रै त्यस्तै अभ्यास देखिनु विडम्बनापूर्ण रहेको उल्लेख गरे। उनले भनेका छन्, "नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रैती, पार्टीलाई निजी जमिन्दारी र घरेलु मामिला ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ।"

महाधिवेशनको कार्यतालिका समेत पालना नगर्ने र सदस्यहरूलाई पूर्वसूचना नदिई स्वेच्छाचारी रूपमा समय सार्ने प्रवृत्ति अलोकतान्त्रिक मात्र नभई भर्त्सनायोग्य रहेको उनको ठहर छ। नेता घिमिरेले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन विशेष महाधिवेशनको मागलाई सकारात्मक रूपमा सम्बोधन गर्न नेतृत्वसँग विनम्र आग्रह गरे। यो मागलाई बेवास्ता गरेर अघि बढेमा भविष्यमा हुने राजनीतिक दुर्घटनाको जिम्मेवार नेतृत्व स्वयं हुनुपर्ने उनको चेतावनी छ।

उनले भनेका छन्, "विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्तैन। कसैले भन्दैमा यसको औचित्य सिद्धिँदैन। जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ।"

श्रीमद्भागवत सप्ताह महायज्ञको फोटो राखेर श्रीमद्भगवद्गीताको श्लोक उद्धृत गर्दै घिमिरेले विधि विपरीत हिँड्नेले सुख र सिद्धि प्राप्त गर्न नसक्ने उल्लेख गरे। पार्टी विधान र पद्धतिलाई लत्त्याउने प्रवृत्तिप्रति कटाक्ष गर्दै उनले पार्टीका सबै तहका नेता-कार्यकर्तामा सद्बुद्धि प्राप्त होस् भन्ने कामना समेत गरे। घिमिरे विशेष महाधिवेशनको लागि अगुवाइ गर्ने नेता माध्येका एक हुन्।

पुष १९, २०८२ शनिबार १५:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।