कङ्गोमा विद्रोहीको आक्रमण : तीन गाउँमा एकैसाथ गोलीबारी, १४ जनाको मृत्यु
एजेन्सी : अफ्रिकी मुलुक कङ्गोको उत्तर-पश्चिम नर्थ किभु प्रान्तमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीनवटा गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन्।
स्थानीय नेता माकाएर सिभिकुनुलाका अनुसार विद्रोहीहरूले राति करिब सात किलोमिटरको क्षेत्रभित्र रहेका तीन गाउँमा हमला गरेका हुन्।
‘राति ८ बजेदेखि १० बजेसम्म लगातार गोलीबारी भयो । आक्रमणमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ भने १३ घर जलेर नष्ट भएका छन्’, उनले भने।
स्थानीय बासिन्दाहरूले घटनाको पुष्टि गरेका छन्। यता, कङ्गोको सेनाले भने भिडन्तमा आफ्ना दुई जना सैनिकको पनि ज्यान गएको जनाएको छ।
यो विद्रोही समूह सुरुमा युगान्डाका पूर्व विद्रोहीहरूद्वारा गठन गरिएको थियो र सन् १९९० को दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छ। यस समूहले हालसम्म हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ।
विद्रोहीहरू प्रायः निहत्था र असहाय नागरिकमाथि हमला गरेर जङ्गलतर्फ भाग्ने गरेका छन्। सन् २०२१ देखि युगान्डाका सैनिकहरूले कङ्गोको सेनासँग मिलेर संयुक्त कारबाही सञ्चालन गरिरहे पनि हिंसा नियन्त्रणमा आउन सकेको छैन।
पुष १९, २०८२ शनिबार १४:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।