गोकर्ण बिष्टले लाइन काटिदिएपछि ‘चोरेको’ बत्तीले इलामका बिरामी बचाएका डा. सुशीलको चिकित्सकीय अनुभव

गोकर्ण बिष्टले लाइन काटिदिएपछि ‘चोरेको’ बत्तीले इलामका बिरामी बचाएका डा. सुशीलको चिकित्सकीय अनुभव

चिकित्सा क्षेत्र यस्तो क्षेत्र हो, जहाँ हरेक दिन एउटा नयाँ कथा जन्मिन्छ। कहिले मृत्युसँगको लडाइँको कथा, कहिले जीवन जित्नेहरूको खुसीको गाथा। कहिले अभावका बीचमा पनि जीवन बचाउने संघर्षको कथा त कहिले मानवताको उदाहरणको कथा।

यस्तै थुप्रै कथाहरूका साक्षी हुन्- डा. सुशील मोहन भट्टराई। उनी न्यूरो सर्जन (स्नायु शल्य चिकित्सक) हुन्। मानिसको मस्तिष्क र मेरुदण्डसँग जोडिएका जटिल रोगहरूको उपचार र शल्यक्रिया गर्नु उनको दैनिकी हो।

काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत डा. सुशीलले आफ्नो चिकित्सा जीवनको झन्डै दुई दशक लामो यात्रामा अनगिन्ती अनुभवहरू सँगालेका छन्। आज ‘उकेरा’सँग कुराकानी गर्दै उनले तिनै अविस्मरणीय क्षणहरूको पोको यसरी फुकाएका छन्:

इलामको त्यो अन्धकार रात र ‘चोरिएको’ बिजुली
डा. सुशीलको स्मृतिको डायरी पल्टाउँदा सबैभन्दा पहिले इलामको एउटा घटना अगाडि आउँछ। घटना करिब १४ वर्षअघिको हो, जतिबेला डा. सुशील इलामको पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिए।

त्यतिबेला देशमा लोडसेडिङको चरम समस्या त थियो नै, तर इलामको त्यो स्वास्थ्य केन्द्र भने अर्कै कारणले अन्धकारमा थियो। तत्कालीन ऊर्जा मन्त्री थिए- एमाले नेता गोकर्ण विष्ट।

विष्टले कडा निर्देशन दिएका थिए- महसुल नतिर्ने जोसुकैको पनि बिजुलीको लाइन काटिदिनू। संयोगवश, पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रले पनि बिजुलीको महसुल तिरेको रहेनछ। केन्द्रसँग तत्काल तिर्न सक्ने आर्थिक स्रोत पनि थिएन।

मन्त्रीको कडा निर्देशन पालना भयो। स्वास्थ्य केन्द्रको बत्ती काटियो।

बिजुली काटिएपछि स्वास्थ्य केन्द्र केवल अन्धकारमा मात्र डुबेन, उपचारका अत्यावश्यक सेवाहरू नै ठप्प हुने अवस्थामा पुगे।

डा. सुशील सम्झन्छन्, ‘बिजुली नभएपछि हामीले करिब दुई हप्तासम्म राती मैनबत्ती बालेर सुत्केरी गरायौँ। मकलको न्यानोमा शिशुलाई सेकायौँ। तर, एक्स-रे मेसिन चलाउन, अन्य उपकरणहरू प्रयोग गर्न बिजुली नै चाहिन्थ्यो। बत्तीको अभावमा बिरामीको उपचार नै प्रभावित हुन थाल्यो।’

अवस्था गम्भीर बन्दै गएपछि डा. सुशील र स्वास्थ्य केन्द्रको टिमले एउटा जोखिमपूर्ण निर्णय लिनुपर्यो। उनीहरूले गाउँले र सरोकारवालाहरूलाई बोलाएर छलफल गरे।

‘अन्ततः सबैको मौखिक सहमतिमा हामीले एउटा जुक्ति निकाल्यौँ- बत्ती चोर्ने,’ डा. सुशील मुसुक्क हाँस्दै भन्छन्, ‘तत्काललाई बिरामीको ज्यान बचाउनका लागि बिजुलीको खम्बाबाट हुकिङ गरेर (चोरेर) स्वास्थ्य केन्द्रमा बत्ती ल्यायौँ।’

त्यही चोरिएको बिजुलीको सहारामा एक्स-रे मेसिन चल्यो, नेबुलाइजर चल्यो र बिरामीहरूको उपचार सम्भव भयो।

‘मन्त्री गोकर्ण बिष्टले लाइन काट्न लगाएपछि हामीले यसरी बत्ती चोरेरै भए पनि बिरामी बचाएका थियौँ। त्यो घटना म कहिल्यै बिर्सिन सक्दिनँ’, डा. सुशील भावुक बन्छन्।

तरबारले छियाछिया पारिएका १९ बर्से युवक
डा. सुशीलको स्मृतिमा अर्को एउटा यस्तो घटना छ, जसले उनलाई अहिले पनि झस्काउँछ। घटना करिब १७ वर्षअघिको हो, जतिबेला उनी एमबीबीएस अध्ययन सकेर छात्रवृत्ति करारमा धादिङ जिल्ला अस्पतालमा कार्यरत थिए।

एक दिन साँझको समय थियो। ड्युटी सकेर डा. सुशील र उनका साथी डा. दिपेन्द्र पाण्डे अस्पतालबाट निस्केर बजारतिर डुल्न जाँदै थिए। तर, बाटोमा उनीहरूले एउटा डरलाग्दो दृश्य देखे।

‘हामी बजारतिर जाँदै थियौँ, विपरीत दिशाबाट एक हुल युवाहरू मोटरसाइकल हुइँक्याउँदै अश्लील गाली गर्दै अस्पतालतिर गइरहेका थिए,’ डा. सुशील सम्झन्छन्, ‘उनीहरूको हाउभाउ र आक्रोश देख्दा पक्कै केही नराम्रो घटना भएको वा कोही घाइते अस्पताल ल्याइएको हुनसक्छ भन्ने लाग्यो । त्यसैले हामी नघुमीकन अस्पतालतिरै फर्कियौँ।’

उनीहरूको अनुमान सही थियो। अस्पतालको आकस्मिक कक्षमा करिब १९ वर्षका एक युवक रक्ताम्मे अवस्थामा छटपटाइरहेका थिए। दुई समूहबीचको ग्याङ फाइटमा ती युवकलाई खुकुरी र तरबारले हानेर शरीरभरि छियाछिया पारिएको थियो। उनी लगभग बेहोसीको अवस्थामा थिए।

ड्युटीमा रहेका चिकित्सकहरूले ती युवकको ज्यान बचाउन हतारहतार प्राथमिक उपचार सुरू गरे। तर, बाहिरको अवस्था भने झनै तनावपूर्ण बनिसकेको थियो। अघि बाटोमा देखिएका ती आक्रामक युवाहरूको समूह अस्पतालमै आइपुगेको थियो। उनीहरूको एउटै उद्देश्य थियो- ती घाइते युवकलाई जसरी पनि मार्ने।

प्रहरीले केही आक्रमणकारीलाई पक्राउ गरेर लग्यो। तर, लगत्तै १२-१५ जनाको अर्को समूह फेरि अस्पताल आइपुग्यो। उनीहरू अस्पतालको गेट फोडेर भित्र पस्न खोजिरहेका थिए।

‘अस्पतालको त्यो सानो च्यानल गेटमा एक जना हवलदार साब ढाल बनेर उभिनुभएको थियो,’ डा. सुशील त्यो त्रासमय क्षण सम्झन्छन्, ‘उहाँले नरोकेको भए त्यो भीड भित्र पस्थ्यो र सायद हामी चिकित्सकहरूलाई पनि बाँकी राख्दैनथ्यो होला। ‘घाइतेलाई किन उपचार गरेको’ भन्दै उनीहरू हामीसँग पनि रिसाएका थिए।’

भित्र सानो कोठामा डा. सुशील र अन्य चिकित्सकहरू डरले काम्दै ती युवकको घाउमा टाँका लगाउँदै थिए, बाहिर भीडको आक्रोस बढिरहेको थियो।

‘कतिपय साथीहरू त डरले टेबल र कुर्सीमुनि लुक्नुपरेको थियो’, उनी त्यो क्षण स्मरण गर्छन्।

यो तनाव साँझदेखि राति ११ बजेसम्म चल्यो। प्रहरीसँगको झडपमा आक्रमणकारीहरू पनि घाइते भए। अन्त्यमा, स्थिति अलि साम्य भएपछि चिकित्सकको टिमले राति नै ती घाइते युवकलाई काठमाडौं रिफर गर्यो। काठमाडौंमा उपचारपछि उनको ज्यान जोगियो।

करिब तीन महिनापछि फलोअपका लागि तिनै युवक बुवासँग धादिङ अस्पताल आइपुगे। बुवाले डा. सुशीलतर्फ देखाउँदै आफ्नो छोरालाई चिनाउँदै भने, ‘डाक्टर साब, तपाईंले बचाउनुभएको मेरो छोरो यही हो।’

डा. सुशीलले ती युवकलाई सोधे, ‘अब के गर्छौ त बाबु?’ युवकको जवाफ सुनेर डा. सुशील झस्किए। युवकले भने, ‘अब मलाई काट्नेहरूसँग बदला लिन्छु।’

मृत्युको मुखबाट भर्खरै फर्किएको मानिसको मुखबाट यस्तो कुरा सुनेपछि डा. सुशीलले उनका बुवालाई सम्झाए- ‘छोरालाई यहाँ नराख्नुस्, काठमाडौं नै राखेर पढाउनुस्​​​​​​।’

बेवारिसेको उद्धार गर्दा सिनियरको गाली
चिकित्सकीय पेसामा कहिलेकाहीँ राम्रो काम गर्दा पनि अपजस पाइन्छ भन्ने उदाहरण डा. सुशीलसँग ताजै छ। यो घटना उनी एमबीबीएस पढ्दै गर्दाको हो, करिब २० वर्षअघि।

काठमाडौं मेडिकल कलेज (केएमसी)मा पढाइ सकेर साथीहरू डा. निरज र डा. सुरजसँगै फर्किंदै गर्दा सिनामंगलको पञ्चकुमारी मन्दिरछेउमा उनीहरूले एउटा दृश्य देखे। झरी परिरहेको थियो। करिब ६५ वर्षकी एक वृद्धा सडकपेटीमा बेहोस भएर लडिरहेकी थिइन्। वरपर रमितेहरूको भीड थियो, तर कसैले वास्ता गरेका थिएनन्।

‘पानीमा भिजेर कठ्याङ्ग्रिएकी ती आमैलाई देखेपछि हाम्रो मनमा दया जाग्यो,’ डा. सुशील भन्छन्, ‘हामीले नजिकैको पसलकी एक दिदीको सहयोगमा उहाँलाई उद्धार गरेर केएमसीको इमर्जेन्सी पुर्यायौँ।’

तर, अस्पताल पुर्याएपछि उनीहरूले सोचेजस्तो स्याबासी पाएनन्। उल्टै सिनियर चिकित्सकहरूले हप्काए- ‘बेवारिसे मान्छे ल्याएर किन दुःख दिएको? पुलिस केस हुन्छ, झन्झट हुन्छ।’

त्यतिबेला केएमसीले भर्ना लिन मानेन। उनीहरूले ती आमैलाई वीर अस्पताल लगे। वीरले पनि बेड खाली नभएको भन्दै फर्काइदियो। तनावका बीच उनीहरूले ती आमैलाई फेरि केएमसीमै ल्याएर भर्ना गराए। रातभरि डा. सुशीलले ती अपरिचित आमैको हेरचाह गरे।

भोलिपल्ट बिहान आमैको होस खुल्यो। उनले आफ्नो ठेगाना र परिवारको सम्पर्क नम्बर दिइन्। डा. सुशीलले परिवारलाई खबर गरे। परिवारका सदस्यहरू अस्पताल आइपुगे।

‘मैले सोचेको थिएँ, आमाको ज्यान बचाइदिएकोमा छोराछोरी खुसी हुन्छन्, धन्यवाद दिन्छन्,’ डा. सुशील तीतो अनुभव पोख्छन्, ‘तर उल्टै उनीहरूले मलाई केरकार गर्न थाले- आमाको नाकको सुनको फुली खोइ? घाँटीको सिक्री खोइ?’

सुरुमा डा. सुशीलकै टोलीले उद्धार गरेको हो भन्ने परिवारलाई थाहा थिएन। पछि उनले सबै वृत्तान्त सुनाएपछि मात्र परिवार साम्य भयो।

‘अघिल्लो दिन बेवारिसे मान्छे ल्यायो भनेर सिनियरको गाली खाइयो, भोलिपल्ट सुन चोरेको शंकामा परिवारको केरकार सहनुपर्यो,’ डा. सुशील भन्छन्, ‘त्यो घटनाले मलाई सिकायो- बेवारिसेको उद्धार गर्नु जोखिमपूर्ण पनि हुनसक्छ।’

टाउकामा रगत जमेकी ती ‘अपरिचित’ आमा
अर्को एउटा घटना छ, वीर अस्पतालको। केही वर्षअघि प्रहरीले एक बेवारिसे महिलालाई वीर अस्पतालको इमर्जेन्सीमा ल्याएर छोडिदिएको थियो। करिब ५५ वर्षकी ती महिलाको अवस्था गम्भीर थियो। सिटी स्क्यान गर्दा टाउकामा रगत जमेको देखियो।

डा. सुशील र उनको टिमले तत्काल निर्णय लियो- शल्यक्रिया गर्ने। यदि शल्यक्रिया नगरेको भए उनको ज्यान जाने निश्चित थियो। शल्यक्रिया सफल भयो। तीन दिन भेन्टिलेटरमा राखेपछि उनको होस खुल्यो।

होस खुलेपछि उनी बर्बराउन थालिन्। बिस्तारै यादहरू फर्कियो। उनले एउटा मोबाइल नम्बर भन्न सकिन्। अस्पतालले त्यो नम्बरमा फोन गर्यो। फोन उठाउने व्यक्ति संयोगले तिनै महिलाका छोरा थिए।

रोचक कुरा के भने, हेटौंडा घर भएकी ती महिला हराएको पाँच दिन भइसक्दा पनि छोरालाई पत्तो थिएन। सायद आमा काठमाडौंमा भएको अर्को छोरालाई भेट्न आएकी थिइन्, तर बाटोमै बेहोस भएपछि सम्पर्कविहीन भइन्। परिवारले भने आमा काठमाडौंमै छिन् भन्ने ठानेर खोजी गरेनन्।

खबर पाएपछि छोरा र परिवार अस्पताल आइपुगे।

‘बिहानसम्म जो महिला हाम्रो लागि एउटा बेवारिसे केस थिइन्, बेलुकासम्म उनी परिवारको मायाले घेरिएकी थिइन्,’ डा. सुशील भन्छन्, ‘अस्पतालमा हामीले धेरै यस्ता बेवारिसेहरू देख्छौँ, जो वास्तवमा कोही न कोहीका प्रिय पात्र हुन्छन्, मात्र उनीहरूको पहिचान गुमेको हुन्छ।’

दुई हप्तापछि ती आमा निको भएर छोरासँगै घर फर्किइन्। त्यो क्षण डा. सुशीलका लागि एउटा ठूलो सन्तुष्टिको क्षण थियो।

बाल्यकालदेखिकै डाक्टर बन्ने सपना
कास्कीको हालको पोखरा महानगरपालिका-२६, विजयपुरमा वि.सं. २०४० मा जन्मिएका सुशील सानैदेखि पढाइमा अब्बल थिए। स्थानीय ‘जुनियर्स सिटिजन्स एकेडेमी’ बाट २०५५ सालमा एसएलसी टपर बनेका उनी उच्च शिक्षाका लागि काठमाडौं आए।

‘सानोमा टिभीमा सेतो कोट लगाएका डाक्टरहरूको अन्तर्वार्ता देख्दा मलाई पनि त्यस्तै बन्न मन लाग्थ्यो’, उनी बाल्यकाल सम्झन्छन्। त्यही सपना पछ्याउँदै उनले काठमाडौं विश्वविद्यालयबाट आईएस्सी गरे र सन् २००३ मा छात्रवृत्तिमा नाम निकालेर काठमाडौं मेडिकल कलेजमा सन् २००३ मा एमबीबीएस भर्ना भए।

एमबीबीएस पढ्दा उनले डा. योगी विकाशानन्दको ‘मनोक्रान्ति’ तालिम पनि लिएका थिए, जसले उनको स्मरण शक्ति र एकाग्रता बढाउन मद्दत गरेको उनी बताउँछन्। सन् २००८ मा उनले एमबीबीएस अध्ययन पूरा गरे।

त्यो बेला नेपालमा बि.सं. २०६२/०६३ को जनआन्दोलनसँगै राजनीतिक उथलपुथल भएको थियो। दलका भ्रातृसंगठनहरू कुटाकुट घाइते भई अस्पताल पुगेको धेरै घटना उनी अझै सम्झन्छन्।

एमबीबीएस सकेपछि छात्रवृत्ति करार अन्तर्गत उनले धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा सेवा गरे। वि.सं. २०६५ मा लोकसेवा आयोग पास गरेर उनी स्थायी मेडिकल अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरे।

सरकारी जागिरको यात्रा
छात्रवृति करारको काम सकिएपछि डा. सुशीलमोहन लोकसेवा परीक्षामार्फत २०६५ मा आठौं तहको मेडिकल अधिकृतका रुपमा स्थायी सरकारी जागिरमा प्रवेश गरे।

पहिलो पोस्टिङ थियो- इलामको पशुपतिनगर। इलाम बसाइ उनका लागि निकै सुखद रह्यो। त्यहाँको सचेत समाज र मिश्रित संस्कृतिले उनलाई लोभ्यायो।

‘त्यतिबेला सामान्य उपचारका लागि पनि मानिसहरू दार्जिलिङ जान्थे। हामीले स्वास्थ्य केन्द्रको सेवा सुधार गरेपछि त्यो क्रम धेरै हदसम्म रोकियो’, उनी गर्वका साथ भन्छन्।

इलामपछि उनी काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आए। टेकुमा काम गर्दा उनले समाजको अर्को पाटो देखे- एचआईभी संक्रमितहरूको पीडा।

‘त्यहाँ मैले एउटा विभेद देखेँ,’ डा. सुशील भन्छन्, ‘श्रीमान्-श्रीमती दुवैलाई एचआईभी संक्रमण हुँदा श्रीमतीले श्रीमान्को साथ छोडेको विरलै देखेँ। तर, श्रीमती संक्रमित हुँदा भने धेरैजसो श्रीमानले छोडेर हिँडेको पाएँ। महिलाहरू त्यो अवस्थामा निकै एक्लो र असहाय हुन्थे।’

न्यूरो सर्जन बन्ने हुटहुटी
जनरल सर्जनका रूपमा काम गरिरहँदा डा. सुशीललाई सधैँ न्यूरो सर्जरी (स्नायु शल्य चिकित्सा) ले तानिरह्यो। त्यसैले उनले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बि.सं. २०७३ मा एमएस (जनरल सर्जरी) सकेपछि २०७५ मा वीर अस्पताल (नाम्स)बाट न्यूरो सर्जरीमा एमसीएच (विद्यावारिधि सरह)को अध्ययन पनि पूरा गरे। यो बि.सं. २०७८ सालको कुरा हो।

अहिले उनी वीर अस्पताल हुँदै निजामती कर्मचारी अस्पतालमा न्यूरो सर्जरी विभागको नेतृत्व गरिरहेका छन्। तर, केही महिनाअघि भने न्यूरो सर्जरी सेवाको सुरुवात र विभागको स्थापनका लागि निजामति कर्मचारी अस्पतालमा काजमा गएका छन्, डा. सुशील।

सहायक प्राध्यापक समेत रहेका उनी दिनभर बिरामीको उपचार, शल्यक्रिया र नयाँ पुस्ताका चिकित्सकहरूलाई पढाउनमै व्यस्त हुन्छन्।

तर, जति नै व्यस्त भए पनि इलामको त्यो अँध्यारो रातमा मैनबत्ती बालेर गरेको उपचार, धादिङमा तरबारले काटिएको त्यो युवकको छटपटी र काठमाडौंका सडकबाट उद्धार गरिएका ती बेवारिसे आमाहरूको अनुहार उनको मानसपटलमा सधैँ ताजा रहिरहन्छ।

डा. सुशील भन्छन्, ‘चिकित्सक हुनु भनेको केवल रोगको उपचार गर्नु मात्र होइन, यो त मानिसका सुख, दुःख, जीवन र मृत्युसँगको सामीप्य पनि हो। यी अनुभवहरू नै मेरो जीवनका असली कमाइ हुन्।’

पुष १९, २०८२ शनिबार १३:४१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।