मुस्ताफिजुरलाई टिमबाट हटाउन केकेआरलाई बीसीसीआईको निर्देशन
एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाउन निर्देशन दिएको छ।
बीसीसीआईका सचिव देवजित सैकियाले समाचार संस्था एएनआईसँग कुरा गर्दै भने, ‘पछिल्ला घटनाक्रमहरूलाई ध्यानमा राख्दै बीसीसीआईले केकेआरलाई बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई टिमबाट रिलिज गर्न निर्देशन दिएको छ। यदि केकेआरले उनको ठाउँमा अर्को खेलाडी राख्न चाहेमा बीसीसीआईले अनुमति दिनेछ।’
सैकियाले स्पष्ट रूपमा कारण नखुलाए पनि पछिल्लो समय बंगलादेशमा भइरहेका घटनाक्रमहरूतर्फ संकेत गरिएको अनुमान छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बंगलादेशमा भइरहेको भारतविरोधी घटना र अल्पसंख्यक हिन्दूहरूको हत्याका बावजूद पनि केकेआर र यसका मालिक शाहरुख खानले बंगलादेशी खेलाडीलाई टिममा राखेको भन्दै भारतका केही धार्मिक तथा राजनीतिक नेताहरूले आलोचना गरिरहेका थिए।
यो निर्णय आउनु भन्दा ठिक एक दिनअघि मात्र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आफ्नो घरेलु सिजनको तालिका सार्वजनिक गरेको थियो। जसमा सन् २०२६ को मार्चमा भारतसँग ३ एकदिवसीय र ३ टी-२० खेलको शृङ्खला पनि समावेश छ। यो सिरिज सन् २०२५ मा हुनुपर्ने भए पनि सारिएको थियो।
मुस्ताफिजुर रहमान सन् २०२६ को सिजनका लागि आईपीएलमा छनोट हुने एक मात्र बंगलादेशी खेलाडी थिए। उनलाई केकेआरले गत वर्ष भएको अक्सनमा ९ करोड २० लाख भारतीय रुपैयाँमा किनेको थियो।
सन् २०१६ देखि आईपीएल खेल्न थालेका मुस्ताफिजुरले सनराइजर्स हैदरावाद, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सका लागि खेलिसकेका छन्। उनले हालसम्म ६० खेलमा ६५ विकेट लिएका छन्। अहिले उनी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा रंगपुर राइडर्सबाट खेलिरहेका छन्।
पुष १९, २०८२ शनिबार १२:३८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।