एमाले छोडेर रास्वपा हिँडेका बासुदेव सात घण्टाको छलफलपछि विष्णु पौडेलकै शरणमा

एमाले छोडेर रास्वपा हिँडेका बासुदेव सात घण्टाको छलफलपछि विष्णु पौडेलकै शरणमा

बुटवल : अन्ततः एमाले नेता बासुदेव घिमिरेको राजनीतिक ‘घुर्की’ २४ घण्टा पनि टिक्न सकेन। मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै ‘गहिरो आत्ममन्थन’ सहित एमालेबाट अलग भएको घोषणा गरेका उनी बिहीबार राति फेरि पुरानै घर एमालेमै फर्किएका छन्।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विशेष दौडधुप र ७ घण्टा लामो ‘म्याराथन’ छलफलपछि घिमिरेले आफ्नो निर्णय बदलेका हुन्। उनको यो ‘यु-टर्न’ले रुपन्देहीको राजनीतिमा भने तरङ्ग मात्र ल्याएन, उनको आफ्नै राजनीतिक विश्वसनीयतामाथि पनि गम्भीर प्रश्न खडा गरिदियो।

त्यो मंगलबारको साँझ
मंगलबार साँझ घिमिरेले फेसबुकमा लेखे- ‘पुरानो राजनीतिक दलहरूले आम जनताको इच्छा र चाहना सम्बोधन गर्न सकेनन्। त्यसैले म पार्टीको जिम्मेवारीबाट अलग रहन्छु।’

लगत्तै उनले एमाले तिलोत्तमा नगर कमिटीलाई सम्बोधन गर्दै राजीनामा पत्र पनि पठाए। राजीनामा पत्रमा उनले लेखेका थिए, ‘गहिरो आत्ममन्थन र मनका धेरै भावनाहरू बोकेर, बदलिँदो परिस्थितिका कारण पार्टीको संगठित सदस्य पदबाट राजीनामा दिएको छु।’

तिलोत्तमा नगरपालिकाको मेयर हुँदा कमाएको लोकप्रियता र गत निर्वाचनमा रुपन्देही-५ बाट कांग्रेसका प्रभावशाली नेता भरतकुमार शाहलाई करिब १० हजार मतान्तरले हराएर सांसद बनेका घिमिरेको यो निर्णयले जिल्लाको एमाले वृत्तमा भूकम्प नै ल्याइदियो।

घिमिरेको पार्टी परित्याग सामान्य असन्तुष्टि मात्र थिएन। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको अन्तिम तयारीमा थिए। स्रोतका अनुसार, काठमाडौंका मेयर बालेन शाहसँग उनको बाक्लो उठबस थियो। बालेन रास्वपाको अभियानमा जोडिएसँगै घिमिरे पनि उतै ढल्किएका थिए।

तिलोत्तमाको मेयर हुँदा नै बालेन र घिमिरेको सम्बन्ध सुमधुर बनेको थियो। बालेन मेयर हुनुअघि नै तिलोत्तमाको विकास मोडल बुझ्न त्यहाँ पुगेका थिए। यही पुरानो सम्बन्धलाई आधार बनाएर घिमिरे रास्वपा प्रवेश गर्ने र आगामी निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध नै रुपन्देही-२ बाट चुनाव लड्नेसम्मको चर्चा जिल्लामा चलेको थियो।

गत मंसिर २८ गते मात्रै एमालेका जिल्ला सचिव चित्रबहादुर कार्कीले पार्टी छोडेर रास्वपा रोजेका थिए। लगत्तै प्रभावशाली नेता घिमिरेले पनि बाटो तताएपछि एमाले नेतृत्व झस्कियो।

विष्णु पौडेलको ‘अर्जेन्ट’ बुटवल यात्रा
जिल्लाका एकपछि अर्को नेताले पार्टी छोड्न थालेपछि एमाले उपाध्यक्ष विष्णु पौडेल सुटुक्क बुटवल झरे। उनको अर्जुनदृष्टि बासुदेव घिमिरेलाई रोक्नुमा थियो। जिल्लाका नेताहरूको मध्यस्थतामा बिहीबार एमाले कार्यकर्ता कमल पौडेलको घरमा गोप्य बैठकको आयोजना गरियो।

त्यहाँ घिमिरे र पौडेलबीच करिब ७ घण्टा लामो छलफल भयो। सो क्रममा घिमिरेले आफ्नो मनको बह पोखे। भर्खरै सम्पन्न एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि संस्थापन पक्षको टिममा नपरेको र पराजित हुनुपरेको पीडा उनले सुनाए।

साथै, गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा आफ्नो व्यवसाय होटल टुलिप र घरमा भएको तोडफोड तथा आगजनीको घटनामा पार्टीले साथ नदिएको गुनासो पनि उनले पौडेलसामु राखे।

सम्झौता र ‘यु-टर्न’
घिमिरेका असन्तुष्टिहरू सुनेपछि उपाध्यक्ष पौडेलले भविष्यमा उचित राजनीतिक जिम्मेवारी दिने र गुनासाहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाए। पौडेलको यही आश्वासनपछि घिमिरे गले। उनी पार्टीमै बस्न राजी भए।

छलफलको अन्त्यमा दुवैले सामूहिक तस्बिर खिचाए। सोही तस्बिर फेसबुकमा पोस्ट गर्दै पौडेलले लेखे- ‘हामी सँगै छौँ।’

पार्टी परित्याग गरेको घोषणा गरेको २४ घण्टा नबित्दै यु-टर्न लिएपछि घिमिरेको राजनीतिक चरित्रमाथि कार्यकर्ताहरूले प्रश्न उठाउन थालेका छन्। कतिपयले उनलाई ‘ठेगान नभएको नेता’ को रूपमा चित्रण गरेका छन्।

तिलोत्तमाको मेयर रहँदा हक्की स्वभावका र आफ्नो योजना जबरजस्ती लाद्न खोज्ने घिमिरेले पार्टीभित्र पनि त्यस्तै व्यवहार देखाउँदै आएका थिए। एक जिल्ला नेताका अनुसार, घिमिरे पहिलेदेखि नै एमालेमा रहे पनि एमाले जस्तै थिएनन्।

ती नेताले विगत सम्झिए, ‘बुटवलमा केपी ओली आउँदा उहाँले जनप्रतिनिधिको कार्यक्रम आफ्नै होटल टुलिपमा राखेर सहभागीहरूलाई ओलीको कार्यक्रममा जान रोक्नुभयो। अन्तिम समयमा दबाब थेग्न नसकेपछि मात्रै छोड्नुभयो। पछि कारबाहीको डरले साँझ विष्णु पौडेललाई बोलाएर सँगै बसेर मिलाउनुभयो। उहाँको यस्तो दोहोरो चरित्र धेरै पटक देखिएको छ।’

गत निर्वाचनमा पनि अध्यक्ष ओलीले घिमिरेको टिकट खोसेर खिमलाल भट्टराईलाई दिने निर्णय गरेका थिए। तर, घिमिरेले विद्रोहको संकेत गरेपछि र कानुनी जटिलताका कारण अन्तिममा घिमिरेकै उम्मेदवारी सदर भयो। राष्ट्रिय सभा सदस्यबाट राजीनामा गराएर ल्याइएका भट्टराई उम्मेदवार बन्न पाएनन्। त्यही बेलादेखि ओली र घिमिरेबीचको सम्बन्ध चिसिएको अनुमान गरिन्छ।

पार्टीले बारम्बार अवसर दिँदादिँदै पनि सामान्य असन्तुष्टिका भरमा पार्टी छोड्ने र फेरि आश्वासन पाएपछि फर्किने उनको शैलीले उनी अवसरवादी नेताका रूपमा चित्रित हुन पुगेका छन् ।

अबको भूमिका : पौडेलको ‘कमाण्डर’ ?
पार्टीमा फर्किए पनि घिमिरेको आगामी राजनीतिक यात्रा सहज देखिँदैन। रुपन्देही-५ मा यसपटक उनले टिकट पाउने सम्भावना न्यून छ। गत निर्वाचनमा उम्मेदवार बन्न नपाएका खिमलाल भट्टराई यसपटक सो क्षेत्रका बलिया दाबेदार हुन्।

यो परिस्थिति बुझेर नै घिमिरे अब विष्णु पौडेलको छहारीमा सुरक्षित हुन खोजेको विश्लेषण गरिँदै छ। कतिपय नेताहरूले २१ फागुनको निर्वाचनमा घिमिरेलाई पौडेलको चुनावी कमाण्डरका रूपमा देख्न सकिने अनुमान गरेका छन्।

रुपन्देही-२ बाट निरन्तर चुनाव जित्दै आएका पौडेल यसपटक पाल्पा सर्ने हल्ला चले पनि उनी यहीँबाट लड्ने निश्चितजस्तै छ। पौडेलले २०६४, २०७०, २०७४ र २०७९ मा रुपन्देही-२ बाट निरन्तर चुनाव जितेका छन्।

जिल्लाका एक नेता भन्छन्, ‘पौडेलले निर्वाचन क्षेत्र फेर्ने कुरा हुँदैन। यहीँबाट चुनाव लड्नुहुन्छ र हामी जिताउँछौँ। उहाँको चुनाव कमाण्डर बासुजी नै बन्ने सम्भावना छ।’

राजीनामा अस्वीकृतको नाटक
घिमिरे पार्टीमा फर्कने सहमति भएपछि एमाले रुपन्देही जिल्ला कमिटीले उनको राजीनामा अस्वीकृत गरेको छ। जिल्ला अध्यक्ष यज्ञ गैरेले घिमिरेको योगदानको चर्चा गर्दै राजीनामा अस्वीकृत गरेको पत्र सार्वजनिक गरेका छन्।

पत्रमा भनिएको छ, ‘२०४८ सालदेखि पार्टीमा सक्रिय तपाईंको योगदान जगजाहेर छ। लुम्बिनी प्रदेश कमिटी सदस्य र महाधिवेशन प्रतिनिधि जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिलाई हामी गुमाउन चाहँदैनौँ।’

बासुदेव घिमिरेको यो कदमले एमालेभित्रको अनुशासन, अवसरवाद र नेतृत्वको व्यवस्थापन क्षमतामाथि भने गम्भीर बहस सिर्जना गरिदिएको छ। के घिमिरे अब एमालेमा पहिलेकै जस्तो विश्वासिलो पात्र बन्न सक्लान्? यो प्रश्नको उत्तर भने समयले नै दिनेछ।

पुष १९, २०८२ शनिबार १२:१३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।