‘गोबर गणेश’को ट्रेलरमा ‘बल्छी’ आफैँ हाबी, अतिथि कलाकार झैँ देखिइन् वर्षा

‘गोबर गणेश’को ट्रेलरमा ‘बल्छी’ आफैँ हाबी, अतिथि कलाकार झैँ देखिइन् वर्षा

काठमाडौं : मरिचमान श्रेष्ठ उर्फ ‘बल्छी धुर्बे’को निर्देशन र अभिनय रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर त रिलिज भयो, भ्युज पनि राम्रै आइरहेको छ। तर, ट्रेलर हेर्दा लाग्छ- फिल्म होइन, ‘बल्छी शो’ हो!

सार्वजनिक ट्रेलरको करिब ३ मिनेट अवधिभर निर्देशक मरिचमान आफैँ छाएका छन्। गाउँदेखि काठमाडौंसम्मको सङ्घर्ष, एक्सन, कमेडी, इमोसन- सबै थोक आफैँले भ्याएका छन्। फिल्मको ट्रेलरमा नायिका वर्षा सिवाकोटी ‘अतिथि कलाकार’ जस्ती देखिएकी छन्।

अचम्म त के छ भने, ट्रेलरमा वर्षाको अनुहार ‘छुस्स’ मात्र देखिन्छ, संवाद त परको कुरा! ट्रेलर रिलिज कार्यक्रममा चिटिक्क परेर पुगेकी वर्षाको अनुहारमा भने चमक कम र असन्तुष्टि बढी झल्किन्थ्यो।

पत्रकारले ‘ट्रेलरमा आफू नअटाउँदा चित्त दुख्यो कि क्या हो?’ भनेर सोध्दा वर्षाले मन अमिलो पार्दै भनिन्, ‘यसबारे त निर्माण टिमलाई नै सोध्नुस् न, मलाई त चित्त दुखाइ छैन।’

यता निर्देशक ‘बल्छी’ले भने बचाउ गर्दै ‘यो आमा-छोराको कथा हो, त्यसैले वर्षाजीको झलक मात्र राखिएको हो’ भनेर टार्न खोजे। तर, मुख्य नायिकालाई नै ट्रेलरमा यसरी ‘बाइपास’ गर्दा वर्षाका फ्यानहरू भने पक्कै खुसी छैनन्।

फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, माओत्से गुरुङजस्ता कलाकारहरूको भीड त छ, तर ट्रेलरमा भने ‘बल्छी’को एकछत्र राज देखिन्छ। के फिल्ममा पनि यस्तै होला त? माघ १ गते नै थाहा होला!

पुष १९, २०८२ शनिबार ११:३६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।