टेस्ट राष्ट्रको सपना, तयारी भने ‘टी-२०’ कै : वर्षभरिमा मल्टिडेज क्रिकेटलाई जम्मा ११ दिन !

टेस्ट राष्ट्रको सपना, तयारी भने ‘टी-२०’ कै : वर्षभरिमा मल्टिडेज क्रिकेटलाई जम्मा ११ दिन !

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा खेलको आधार मानिने ‘मल्टिडेज’ क्रिकेटलाई नगन्य स्थान दिइएको छ।

एकातर्फ नेपालले भविष्यमा ‘टेस्ट राष्ट्र’ बन्ने सपना देखिरहेको छ भने अर्कातर्फ खेलाडी उत्पादनको मुख्य आधार मानिने रातो बलको क्रिकेटलाई वर्षभरिमा जम्मा ११ दिन मात्र छुट्याइएको छ।

क्रिकेटको स्तर उकास्न र खेलाडीको वास्तविक परीक्षण गर्न मल्टिडेज क्रिकेट अपरिहार्य मानिन्छ। तर, क्यानको २०२६ को क्यालेन्डरले भने यो वास्तविकतालाई नजरअन्दाज गरेको देखिएको छ।

सार्वजनिक तालिका अनुसार ‘जय ट्रफी’ नाम दिइएको मल्टिडेज क्रिकेट प्रतियोगिता फेब्रुअरी १२ देखि २२ तारिखसम्म जम्मा ११ दिन चल्नेछ। यो प्रतियोगितामा पनि देशभरका खेलाडीले अवसर पाउने छैनन्। अघिल्लो वर्षको प्रधानमन्त्री कप (ओडीआई)मा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष चार टोलीले मात्र यसमा सहभागिता जनाउनेछन्।

सीमित टोली र अत्यन्त छोटो समयको यो तालिकाले खेलाडीलाई लामो समय क्रिजमा टिक्ने अभ्यास र धैर्यताको विकास गराउन असम्भव देखिन्छ।

सन् २०२६ मा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चारवटा महत्त्वपूर्ण एकदिवसीय (ओडीआई) शृङ्खला खेल्दै छ। ५० ओभरको खेलमा राम्रो नतिजा ल्याउन खेलाडीमा लामो इनिङ खेल्ने बानी र संयमता आवश्यक पर्छ, जुन मल्टिडेज क्रिकेटबाट मात्र विकास हुन्छ।

टी-२० र छोटो फर्म्याटमा मात्र केन्द्रित हुँदा ब्याटरहरूमा लामो समय टिकेर खेल्ने बानी हराउँदै गएको छ, जसको प्रत्यक्ष असर ५० ओभरको खेलमा देखिन थालेको छ। मल्टिडेज क्रिकेटलाई बेवास्ता गर्दा नेपालको ब्याटिङ अझ कमजोर हुने र यसले नेपालको ओडीआई मान्यता नै जोखिममा पर्नसक्ने देखिन्छ।

पुष १९, २०८२ शनिबार ११:२०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।