क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर : पिएम कपबाहेक छैन घरेलु प्रतियोगिता, द्विपक्षीय सिरिजहरू प्रस्तावित मात्र

क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर : पिएम कपबाहेक छैन घरेलु प्रतियोगिता, द्विपक्षीय सिरिजहरू प्रस्तावित मात्र

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

सार्वजनिक क्यालेन्डरमा मुख्य घरेलु प्रतियोगिता रहेको पुरुष पिएम कप जम्मा २४ दिनको हुनेछ भने कुनै पनि अन्तर्राष्ट्रिय सिरिजको टुङ्गो लागेको छैन।

आईसीसीको नियमित प्रतियोगितालाई समेटेर बनाइएको क्यालेन्डरमा आफूले आयोजना  गर्ने प्रतियोगिता र सिरिजको पछाडि ब्राकेटमा प्रस्तावित लेखिएको छ। यसले अहिलेसम्म कुनै पनि सिरिज टुङ्गो नलागेको देखिन्छ।

क्यानको तालिका अनुसार सन् २०२६ को फेब्रुअरीमा भारतमा हुने ‘आईसीसी टी-२० विश्वकप’मा नेपालको सहभागिता मुख्य आकर्षणको रूपमा रहेको छ।

मार्च महिनामा नेपालले घरेलु मैदानमा ओमान र यूएईसँग आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को शृङ्खला खेल्नेछ। यस्तै, मे महिनामा पनि नेपालले घरेलु मैदानमै अमेरिका र स्कटल्यान्डसँग लिग-२ को अर्को शृङ्खला खेल्ने तालिका छ।

जनवरीमा महिला टी-२० विश्वकपको छनोट खेल घरेलु मैदानमा हुनेछ भने जुन महिनामा बेलायतमा हुने आईसीसी महिला टी-२० विश्वकपको तालिका राखिएको छ। जुलाईमा महिला एसिया कपको तालिका तय गरिएको छ।

यस्तै अप्रिल र मे महिनामा नेपाल ‘ए’ टोलीको सिरिज समेत प्रस्ताव गरिएको छ। अन्य सिरिजहरूमा जुलाईमा नेदरल्यान्ड्समा र अक्टोबरमा ओमानमा लिग-२ का खेलहरू हुनेछन्। साथै, वर्षभरि विभिन्न द्विपक्षीय सिरिजहरू पनि समावेश गरिएका छन्।

घरेलु क्यालेन्डरका
वर्षको सुरुआत जनवरीदेखि नै पुरुष प्रधानमन्त्री कपको जिल्ला र प्रादेशिक छनोट सुरु हुनेछ। मार्चमा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ। महिला प्रधानमन्त्री कपको राष्ट्रिय प्रतियोगिता मे महिनामा हुनेछ।

नेपाली क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग ‘नेपाल प्रिमियर लिग’को तेस्रो संस्करण सन् २०२६ को अक्टोबर र नोभेम्बर महिनामा आयोजना हुने तय भएको छ।

क्यानले ग्रासरुट क्रिकेटलाई प्राथमिकता दिँदै फेब्रुअरी र मार्चमा राष्ट्रिय विद्यालय च्याम्पियनसिप, अप्रिलमा वाई-वाई यू-१९ राष्ट्रिय प्रतियोगिता र अक्टोबरमा यू-१६ गल्र्स राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

जुन, जुलाई र अगस्ट महिनामा क्यानले लेभल १ र २ का कोचिङ कोर्स, पिच क्युरेटर कोर्स र अम्पायरिंग कोर्स सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ।

पुष १९, २०८२ शनिबार १०:५१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।