आशिफ शाहद्वारा रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता, काठमाडौं-५ बाट प्रत्यक्ष लड्ने घोषणा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीमा परेका कलाकार तथा सञ्चारकर्मी आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै उनले समानुपातिकको साटो अब प्रत्यक्ष निर्वाचनमा होमिने निर्णय गरेका हुन्। शाहले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिन पूर्ण रूपमा तयार रहेको जानकारी दिएका छन्।
समानुपातिक सूचीमा नाम सार्वजनिक भएपछि आएका समाचार, जनप्रतिक्रिया र पार्टीभित्रैका साथीहरूको भावनाले आफूलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनाएको शाहले बताएका छन्।
उनले लेखेका छन्, ‘सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो। जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।’
सुरुमा आफूले प्रत्यक्ष निर्वाचनमै उठ्ने इच्छा व्यक्त गरेको भए पनि देशव्यापी चुनावी अभियानका लागि साथीहरूको सुझावमा समानुपातिकमा बस्न राजी भएको उनले स्पष्ट पारेका छन्।
आफ्नो नाम फिर्ता लिँदै शाहले समानुपातिक सूचीमा रहेका अन्य आकांक्षीहरूलाई पनि जनभावना र पार्टीको हितलाई ध्यानमा राख्दै नाम फिर्ता लिएर ‘दुई कदम पछाडि हट्न’ विनम्र आग्रह गरेका छन्।
शाह सक्रिय राजनीतिमा नभए पनि रवि लामिछाने, कुलमान घिसिङ र बालेन्द्र शाह (बालेन) बीच एकता गराउन पर्दा पछाडि रहेर महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रूपमा चिनिन्छन्।
उनले आफ्नो फेसबुक पोस्टमा पनि देश बनाउने हुटहुटीका कारण आफूले रवि-बालेन-कुलमानको मिलन सम्भव होस् भनेर प्रयास गरेको र सोही मिहिनेत देखेर साथीहरूले आफूलाई सांसदको सूचीमा राखेको स्मरण गरेका छन्।
पुष १९, २०८२ शनिबार ०९:१०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।