ट्रम्पको दोस्रो कार्यकालमा भएका हरेक सम्झौतामा परिवारलाई ‘ज्याकपट’

ट्रम्पको दोस्रो कार्यकालमा भएका हरेक सम्झौतामा परिवारलाई ‘ज्याकपट’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल उनका परिवारका लागि पैसा कमाउने ठूलो माध्यम बनेको देखिएको छ। ‘न्यूयोर्क टाइम्स’ को एक रिपोर्टका अनुसार, ट्रम्प सरकारले पछिल्लो एक वर्षमा जुन-जुन देशहरूसँग ठूला सम्झौता गर्यो, तिनै देशहरूबाट ट्रम्प परिवारको व्यापार पनि तीव्र गतिमा विस्तार भएको छ।

ह्वाइट हाउसमा दोस्रो पटक प्रवेश गर्दा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जस्तो ‘परिवारले नयाँ अन्तर्राष्ट्रिय सम्झौता गर्ने छैन’ भन्ने वाचा गरेनन्। कुनै समय क्रिप्टोकरेन्सीलाई ‘धोका’ भन्ने ट्रम्प अहिले आफैँ यसलाई बढावा दिइरहेका छन्। अहिले ट्रम्प परिवारको व्यापार घरजग्गाबाट अघि बढेर क्रिप्टो, एआई र डेटा सेन्टरसम्म फैलिएको छ।

आलोचकहरूका अनुसार ट्रम्पको राष्ट्रपतिको पद अमेरिकाका लागि भन्दा उनको परिवारका लागि बढी काम गरिरहेको देखिन्छ। सन् २०२५ को अप्रिलमा एक गल्फ टुर्नामेन्टको दौरान ट्रम्पले लेखेका थिए, ‘यो धनी बन्ने शानदार समय हो, पहिले भन्दा पनि धेरै धनी।’ अहिले उनी त्यही बाटोमा हिँडिरहेको देखिन्छ।

ट्रम्प परिवारको व्यापार ५ क्षेत्रमा फैलियो
डोनाल्ड ट्रम्प र उनका छोराहरूले क्रिप्टो कारोबार सम्हाल्छन्। उनीहरूको कम्पनीले टोकन जारी गरेर व्यापार गरिरहेको छ। यस्तै रियल इस्टेट र ट्रम्प ब्रान्ड छोराहरू डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले सम्हालिरहेका छन्। होटल, गल्फ कोर्स र टावरहरूलाई ‘ट्रम्प’ नाम दिएबापत लाइसेन्स शुल्क लिने गरिन्छ। हाल विश्वभर ८ ठूला प्रोजेक्ट बन्दैछन्।

यस्तै ट्रम्पको परिवारले एआई र डेटा सेन्टरमा लगानी बढाएको छ। यूएईलाई प्रविधि बेच्दा ट्रम्पको नेटवर्कलाई फाइदा पुगेको छ। डोनाल्ड ट्रम्प जुनियरसँग जोडिएका कम्पनीहरूले ड्रोन र रक्षा प्रविधिको ठेक्का पाएका छन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) बाट उनीहरूले ठेक्का पाइरहेका छन्।

ट्रम्पका ज्वाइँ ज्यारेड कुशनरले साउदी अरब र खाडी देशहरूबाट अर्बौं रकम उठाएर रियल इस्टेट र टेक प्रोजेक्टमा लगानी गरिरहेका छन्।

कुन देशसँग कस्तो लाभ?
अमेरिकाले यूएईलाई चिप्स बेच्ने अनुमति दियो। बदलामा दुबई सम्मेलनमा ट्रम्प परिवारको क्रिप्टो कम्पनीबाट ठूलो रकमको कोइन खरिद गरियो, जसबाट परिवारलाई करोडौं फाइदा भयो। ट्रम्प अर्गनाइजेसनले साउदी सरकारको सहयोगमा होटल र गल्फ कोर्स प्रोजेक्टहरू अघि बढाएको छ।

यता सन् २०२५ को मे महिनामा कतारले ट्रम्पलाई एउटा विलासी बोइङ जेट उपहार दियो। साथै कतारमा ट्रम्प ब्रान्डका प्रोजेक्टबाट परिवारले मुनाफा कमायो। यसका अलावा अल्बानिया, ओमान, माल्दिभ्स, भियतनाम र दक्षिण कोरियामा पनि ट्रम्प ब्रान्डका प्रोजेक्टहरू मार्फत स्थानीय नियमहरूलाई समेत पन्छाएर व्यापार विस्तार गरिएको छ।

एक वर्षमा करिब २ अर्ब डलर चन्दा संकलन
दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको टिमले ठूलो मात्रामा चन्दा उठाएको छ। रिपोर्टका अनुसार चुनावपछि विभिन्न फण्ड र योजनाका लागि करिब २ अर्ब डलर (ठूलो रकम) जम्मा गरिएको छ।

करिब ३४६ ठूला दाताहरू छन्, जसले ट्रम्प सरकारका निर्णयबाट फाइदा लिएका छन्। यसमा गुगलका सुन्दर पिचाई र माइक्रोसफ्टका सत्य नडेला जस्ता ६ जना भारतीय मूलका व्यवसायीहरू पनि समावेश छन्। धेरै व्यवसायीहरूले राष्ट्रपति रिसाउने डरले वा सुरक्षाका लागि पनि चन्दा दिएको बताइन्छ।

यद्यपि, ह्वाइट हाउसले यी सबै आरोपहरू अस्वीकार गरेको छ। ट्रम्पको उद्देश्य केवल देशको भलाई गर्नु रहेको र चन्दा दिनेहरूलाई शंकाको नजरले हेर्न नहुने ह्वाइट हाउसको भनाइ छ।

पुष १९, २०८२ शनिबार ०८:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।