भद्रपुर विमानस्थलमा धावनमार्गबाट चिप्लियो बुद्ध एयरको विमान
काठमाडौं : काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान शुक्रबार राति अवतरणका क्रममा भद्रपुर विमानस्थलको धावनमार्ग (रनवे) बाट चिप्लिएर दुर्घटना भएको छ।
विमानमा सवार ५१ जना यात्रु र चालक दलका सबै सदस्यहरू सुरक्षित रहेका छन्। काठमाडौंबाट उडान भरेको बुद्ध एयरको नाइन एन-एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्नेक्रममा रनवेबाट बाहिरिएको हो।
विमान धावनमार्गबाट केही मिटर पर घाँसे मैदानमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना लगत्तै सबै यात्रु र चालक दलका सदस्यहरूको सफल उद्धार गरिएको छ। केही यात्रुहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सबै जना सकुशल रहेको जानकारी दिए। “विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्,” उनले भने।
पुष १८, २०८२ शुक्रबार २२:२४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।