नेटवर्क विस्तारमा एनसेलको फड्को : ७७ वटै जिल्लामा फोरजी
काठमाडौं : एनसेलले सन् २०२५ मा देशभर २५० वटा नयाँ फोरजी टावर जडान गरी सञ्चालनमा ल्याएको छ। साथै, ग्राहकलाई उच्च गतिको डेटा र गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन २२ सय वटा साइटको क्षमता अभिवृद्धि गरेको छ।
विशेष गरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशलाई केन्द्रित गरी गरिएको विस्तारले अझ स्पष्ट भ्वाइस र उच्च गतिको फोरजी डेटा सुनिश्चित गरेको जनाएको छ। नयाँ टावरहरूमध्ये मधेश प्रदेशमा मात्रै सयभन्दा बढी स्थापना गरिएका छन्। कर्णालीका दैलेख, रुकुम पश्चिम र सुदूरपश्चिमका डोटी, कैलाली लगायतका दुर्गम क्षेत्रमा समेत सेवा पुर्याइएको कम्पनीले जनाएको छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले यो विस्तार केवल कनेक्टिभिटी मात्र नभई डिजिटल दुनियाँमा पहुँच र अवसरको विषय भएको बताए। नेपाल दूरसञ्चार प्राधिकरणको सहजीकरणसँगै पछिल्लो साढे दुई महिनामा मात्रै १९७ वटा टावर जडान गरिएको हो।
सुधारसँगै एनसेलको फोरजी सेवा अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ भने कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी मानिसहरूमाझ यसको पहुँच स्थापित भएको छ। यसले शिक्षा, स्वास्थ्य र व्यवसायका लागि आवश्यक उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा थप सहजता ल्याउने विश्वास गरिएको छ।
पुष १८, २०८२ शुक्रबार १९:१५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।