संस्थापनले पेलेर महाधिवेशन वैशाखमा पुर्‍याएपछि गगनको चेतावनी "विधान अनुसार जुनसुकै हदसम्म जान्छु"

संस्थापनले पेलेर महाधिवेशन वैशाखमा पुर्‍याएपछि गगनको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख अन्तिममा पार्टीको नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गर्यो। पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको नयाँ कार्यतालिका पारित भएको जानकारी गराए।

तर फागुन २१ अगाडि नै नियमित वा विशेष महाधिवेशनको माग राख्दै आएका पार्टीका दुई महामन्त्रीसहित पाँच जनाले सो निर्णयमा असहमति जनाउँदै अब विशेष महाधिवेशनको तयारी अगाडि बढाउने बताए। संस्थापनपक्षका नेताहरूले पेलेर नयाँ कार्यतालिका पारित गरेपछि बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुर र केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले नोट अफ डिसेन्ट लेखेका थिए।

बैठक सकिएपछि महामन्त्री थापाले विधान अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नै पर्ने र सोही अनुसार हुने बताए। उनले विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि केन्द्रीय कार्यालयले आह्वान गरेर हुन्छ सोही अनुसार हुने र त्यो केही दिनमै टुंगो लाग्ने  उनले बताए। 

शुक्रवारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पुसभित्र आवधिक महाधिवेशन नगरी नयाँ कार्यतालिका पारित गरेकाले अब विधान अनुसार विशेष महाधिवेशन हुने थापाले दाबी गरे।

'अब पुस मसान्तभित्र काठमाडौंमा विशेष महाधिवेशन हुनेछ, देशभरका साथीहरूसँग अब काठमाडौंमा भेटौँला,' उनले बैठकपछि सञ्चारकर्मीहरूसँग भने।

बैठक सकिएपछि उनले विधान अनुसार आफू जुनसुकै हदसम्म जान तयार रहेको चेतावनीसमेत दिए। उनले पार्टीको विधानको दफा १७ (२) ले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेमा आयोजना गर्नुपर्ने व्यवस्था गरेको र त्यही आधारमा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले कि आवधिक महाधिवेशन कि विशेष महाधिवेशनको माग गरेको भन्दै शुक्रवारको बैठकले आवधिक महाधिवेशन नहुने निश्चित गरेसँगै विधान अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन बाध्यकारी भएको दाबी गरे।

पुष १८, २०८२ शुक्रबार १९:११:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।