फागुन २१ को निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन नगर्ने संस्थापनको तयारी, वैशाख अन्तिमको मिति प्रस्ताव

फागुन २१ को निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन नगर्ने संस्थापनको तयारी, वैशाख अन्तिमको मिति प्रस्ताव

काठमाडौँ : नियमित महाधिवेशन हुन नसके पुस अन्तिममा विशेष महाधिवेशन गर्न दुई महामन्त्रीले मिति घोषणा गरेपछि बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिमा संस्थापनपक्षले १५ औँ महाधिवेशन वैशाख २८-३१ मा गर्न नयाँ प्रस्ताव ल्याएको छ।

पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुसभित्र गर्नेगरि तय भएको कार्यतालिका अनुसार महाधिवेशन असम्भव भएको भन्दै निर्वाचनपछि मात्र महाधिवेशन गर्नेगरि नयाँ कार्यतालिका प्रस्ताव गरेका हुन्।

मंसिर १५ मै  विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै खड्काले पुस २६ मा तोकिएको नियमित महाधिवेशन हुन नसकेपछि अब २०८३ वैशाख २८-३१ गते गर्ने नयाँ तालिका प्रस्ताव गरे।

महाधिवेशन विवाद मिलाउन बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितीको बैठक। तस्बिर : दिपेश श्रेष्ठ।नयाँ प्रस्तावमा माघ सातभित्र क्रियाशिल सदस्यता टुङ्ग्याउने र चैत २१ बाट गाउँस्तरबाट अधिवेशन सुरु गरेर केन्द्रको महाधिवेशन वैशाखको २० देखि ३१ गतेसम्म चार दिन आयोजना गर्ने प्रस्ताव गरिएको छ। यस अगाडि निर्वाचित समितिको पदावधि माघका लागि मात्र थपिएकाले सँगै सबैको कार्यकाल जेठ मसान्तसम्म थप्न समेत प्रस्ताव गरिएको छ।

संस्थापनपक्षले निर्वाचन अगाडि महाधिवेशन नगर्नेगरि ल्याएको कार्यतालिकामा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधरहरुले स्वीकार गरेका छैनन्। बैठक जारी छ। 

पुष १८, २०८२ शुक्रबार १८:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।