होटल अगाडि उभिएकी युवतीबाट खुलेको यौन धन्दाको जालो : ह्वाट्स एपमा डिल, होटलमा डेलिभरी
काठमाडौं : आर्थिक समस्यामा परेका युवतीहरूलाई प्रलोभनमा पारेर नेपाली र विदेशी नागरिकहरूको माग अनुसार होटेलमै युवतीहरू पुर्याइदिन सक्रिय रहेको आरोपमा पक्राउ परेका आकाश भन्ने कुलबहादुर कार्की पुर्पक्षका लागि थुनामा गएका छन्।
काठमाडौं उपत्यकाका विभिन्न होटलमा बस्ने विदेशी तथा नेपाली नागरिकहरूले युवती खोजेको अवस्थामा ह्वाट्सएपमा फोटो पठाएर डिल भएपछि युवतीलाई कारमा राखेर होटलमा पुर्याउने र पैसा लिने काममा संलग्न रहेको आरोपमा कार्की पक्राउ परेका थिए।
प्रहरीले होटल अगाडि उभिएका युवती र कारमा भेटिएका युवतीहरूमाथि शंका लागेर उनीहरूलाई माइती नेपालको संरक्षणमा पठाएपछि ट्याक्सी चालकको आवरणमा रहेर कार्कीले युवतीहरूलाई कर्लगर्लको रूपमा प्रयोग गर्ने गरेको खुलेको दाबीसहित मानव बेचबिखनको अभियोगमा मुद्दा दायर भएको थियो। सोही अभियोगमा शुक्रवार भएको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो।
ह्वाट्स एपमा डिल, होटलमा डेलिभरी
प्रहरी र अदालतमा दिएको बयानका कार्कीले आफू ट्याक्सी चालक भएकाले कसैले बोलाएर लिन जाने गरेको र सोहीक्रममा पीडित युवतीहरूसँग परिचय भएको दाबी गरे। युवतीहरू विभिन्न क्लबमा काम गर्ने गरेको र उनीहरूले बेलुका फोन गरेपछि लिन जाने र उनीहरूले भनेको ठाउँमा पुर्याउने मात्र गरेको उनले दाबी गरेका थिए।
त्यस वापत उनीहरूसँग ट्याक्सी भाडा बाहेक अन्य पैसा लिने नगरेको भनेर उनले अभियोग अस्वीकार गरे पनि प्रहरी अनुसन्धानमा उनको ह्वाट्सएपमा विभिन्न व्यक्तिहरूले युवतीको फोटो पठाउने र ग्राहक बनेकाहरूले जसलाई छान्छन् उनीहरूलाई होटलमा लैजाने गरेको प्रमाण फेला परेको थियो।
प्रहरी अनुसन्धानमा कार्की आफैँले र सहयोगी झापाकी समीक्षा अधिकारी नाम गरेकी युवतीले कपडा पसल लगायतमा काम गर्ने, होटल तथा रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्ने युवतीहरूलाई यती थोरै तलबमा के काम गरेको भन्दै आकर्षक रोजगारी र पैसाको प्रलोभनमा पारेर कर्लगर्लको रूपमा काममा लगाउने गरेको खुल्यो।
अभियोग पत्रमा खुले अनुसार उनले प्रारम्भमा राम्रो काम हुन्छ भनेर लोभ्याउने र कालोपुलमा रहेको एक होटलमा बोलाएर राती होटलमा केटाहरूसँग सुत्न जानुपर्ने र त्यसबापत १० हजारसम्म पाइने भनेर लोभ्याउने गरेको देखिन्छ।
पीडित युवतीहरूमध्ये कोही आमा बिरामी भएर उपचारका लागि पैसा नभएर राजी भएको त कोही परिवारका अन्य सदस्य नभएर राम्रै पैसा पाइने लोभमा सहमत भएको देखिन्छ। जब युवतीहरू सहमत हुन्छन् अनि कार्कीले उनीहरूको तस्बिर लिन्थे।
विभिन्न होटलमा उनले कुनै ग्राहकले युवती खोजे सम्पर्क गर्न भन्ने गरेका थिए। अन्य सम्पर्कबाट समेत युवतीहरू खोज्ने ग्राहक उनको सम्पर्कमा आउँथे। उनले पहिला ग्राहकहरूको संख्या अनुसार युवतीको तस्बिर पठाउने अनि उनीहरूले जोजो छान्छन् उनीहरूलाई फोन गरेर बोलाउने वा लिन जाने गर्थे।
युवतीलाई आफ्नो कारमा लिएर उनले होटलहरुमा लगेर ग्राहकहरूको कोठामा लगेर छाड्ने गरेका थिए। युवतीहरूको बयानमा उनले चिनिया नागरिकलाई समेत युवती पठाउने गरेको देखिन्छ। उनले एक युवती वापत एक रातको २० हजार लिने र युवतीहरूलाई ४ देखि १० हजारसम्म दिने गरेको बयानमा खुलेको छ।
बयानबाट कार्कीले एयरपोर्टको नमस्ते होटल लगायतमा लगेर युवतीहरू छाड्ने गरेको देखिन्छ। तर प्रहरीले कार्कीलाई मात्र प्रतिवादी बनायो। नाम पोलिएकी समीक्षासमेत पक्राउ परेकी छैनन्।
प्रहरीको सोधपुछले खुलायो र्याकेट
२०८२ मंसिर १९ मा प्रहरी वृत्त बौद्धको टोलीले कारमा फेला पारेको एक युवतीलाई शंका लागेर सोधपुछ५ गर्यो। जवाफ शंकास्पद देखिएपछि प्रहरीले ती युवतीलाई माइती नेपाल पठायो। गौशालाको प्रहरीले मध्यरात एक होटल अगाडि उभिएको अवस्थामा एक युवती फेला पार्यो। शंका लागेर सोधपुछ गर्दा शंका लागेपछि उनलाई पनि माइती नेपाल पठायो।
माइती नेपालमा पुगेपछि युवतीहरूले आफूले गर्ने काम र त्यसमा कार्कीको भूमिकाबारे खुलाएपछि प्रहरीले जाहेरी लिएर कार्कीलाई पक्राउ गरेको थियो। तर कार्कीले बयानमा सबै आरोप अस्वीकार गरे पनि पीडितको बयान र थप प्रमाणका कारण उनी पुर्पक्षका लागि थुनामा पुगे।
पुष १८, २०८२ शुक्रबार १७:५१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।