कांग्रेसभित्र रस्साकस्सी : विशेष महाधिवेशनबारे संस्थापन पक्षका नेताहरूले के भने ?
काठमाडौं : नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। नियमित महाधिवेशन स्थगित भएपछि उत्पन्न परिस्थितिको निकास खोज्न शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।
महामन्त्रीहरू विशेष महाधिवेशनको तयारीमा अघि बढ्दा संस्थापन पक्षले करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित मागलाई अस्वीकार गरिरहेको छ। जसले पार्टी विभाजनसम्मको त्रास कांग्रेसभित्र फैलिएको छ।
वर्तमान अन्योल र संकट समाधान गरी पार्टीलाई एकढिक्का बनाएर लैजाने जिम्मेवारी मूलतः संस्थापन पक्षको काँधमा छ। नियमित महाधिवेशन स्थगनपछि उत्पन्न परिस्थितिलाई कार्यसम्पादन समितिले कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ।
यद्यपि बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनको सम्भावनालाई नकारिरहेका छन्। नेता रमेश लेखकले नियमित प्रक्रिया अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको बताए। उनले भने, “नियमित प्रक्रिया अघि बढेपश्चात् विशेष महाधिवेशन हुँदैन। अहिले विशेष महाधिवेशन हुने अवस्था छैन।”
त्यस्तै, अर्का नेता विमलेन्द्र निधिले पार्टीको विशेष महाधिवेशन नहुने बताए। उनले भने, “विशेष महाधिवेशनको औचित्य मंसिर १५ मा सकिसक्यो, विशेष महाधिवेशन हुँदैन।” अबको गन्तव्य निर्वाचन नै भएको उल्लेख गर्दै निधिले भने, “हामी पार्टी निर्वाचनमा जाने तयारी छ। अब पार्टी निर्वाचनमा गयो।”
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको अन्योल र जटिलता छिटै अन्त्य हुने विश्वास व्यक्त गरे। कार्यसम्पादन समितिको बैठकले पार्टीमा उत्पन्न परिस्थितिको समाधान गर्न आवश्यक निर्णय लिने उनको भनाई थियो। कांग्रेसभित्रको जटिलताको के हुन्छ भन्ने प्रश्नमा खड्काले छोटो प्रतिक्रिया दिँदै भने, “निर्णय आउँछ।”
नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय थापा र शर्माले विकल्पको रूपमा 'विशेष महाधिवेशन' अघि सारेका छन्। महाधिवेशन सार्ने पक्षमा उनीहरू छैनन्।
विशेष महाधिवेशन पक्षधरले आगामी पुस २७ र २८ गतेका लागि काठमाडौंको भृकुटीमण्डपस्थित सभाहल समेत बुक गरिसकेका छन्। महामन्त्रीहरू राजनीतिक प्रतिवेदन लेखनमा केन्द्रित भइसकेका छन्। महामन्त्रीद्वयको सक्रियताले पार्टीभित्रको संस्थापन पक्षलाई थप दबाबमा पारेको छ।
पुष १८, २०८२ शुक्रबार १७:०५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।