विशेष महाधिवेशनले पार्टी फुट्दैन : महामन्त्री शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रको वर्तमान अन्योल र संकट समाधानका लागि 'विशेष महाधिवेशन' नै उपयुक्त विकल्प भएको दाबी गरेका छन्। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस विभाजन नहुने स्पष्ट पारे।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनलाई अघि सरेपछि कांग्रेस शङ्कित छ। नियमित महाधिवेशन स्थगन गरिएपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो। बैठक अघि शर्माले विशेष महाधिवेशन नीति र पद्धतिका लागि भएको स्पष्ट पारे।
उनले भने, "कांग्रेसभित्रको अहिलेको विवाद इजरायल-प्यालेस्टाइनको जस्तो होइन र रुस र युक्रेन जस्तो होइन। विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गरेर जाँदा पार्टी फुट्दैन।"
महामन्त्री शर्माले विशेष महाधिवेशनका लागि सम्भावित रूपरेखा र कार्यतालिका समेत प्रस्तुत गरे। उनका अनुसार पुस २६ गते बन्दसत्र सञ्चालन गरिने, जहाँ आर्थिक, सामाजिक र राजनीतिक मुद्दाका साथै 'जेनजी' (नयाँ पुस्ता) का आकांक्षा र सुशासनका विषयमा ५ वटा मुख्य प्रतिवेदनमाथि छलफल हुनेछ। सोही दिन अपराह्न २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिनेछ।
पुस २७ गते बिहान ७ देखि १२ बजेसम्म विद्युतीय मतदान गरिनेछ, जसको परिणाम सोही दिन साँझसम्म सार्वजनिक गरिनेछ। शर्माले नेतृत्व चयनमा सहमति जुट्न नसकेको खण्डमा पनि विशेष महाधिवेशनले पार्टीलाई एकढिक्का राख्ने सङ्कल्प पारित गर्ने दाबी गरे।
१५औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएको अवस्थामा पार्टीलाई शून्यतामा राख्न नहुने उनको तर्क छ। संस्थापन पक्षले भने विशेष महाधिवेशनको सम्भावनालाई नकार्दै आएको छ।
पुष १८, २०८२ शुक्रबार १६:२३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।