कतारद्वारा १३ नेपाली कैदीलाई आममाफी
काठमाडौं : कतार सरकारले आफ्नो राष्ट्रिय दिवसको अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भ पारेर उनीहरूलाई जेलमुक्त गरिएको हो।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यो निर्णयको स्वागत गरेको छ।
कतारका अमिर (राजा)ले राष्ट्रिय दिवसको खुसियालीमा उदारतापूर्वक नेपाली कैदीहरूलाई आममाफी दिएकोमा नेपाल सरकारले कतार सरकारप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ।
मन्त्रालयले यस कदमलाई नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिका रूपमा चित्रण गरेको छ। साथै, मानवीय आधारमा दिइएको यो क्षमादानको उच्च कदर गरिएको मन्त्रालयले जनाएको छ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकमध्ये एक कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन्। गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपाली वैदेशिक रोजगारीका सिलसिलामा कतार गएको तथ्याङ्क छ।
पुष १८, २०८२ शुक्रबार १३:०९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।