पुस २८ भित्र विशेष महाधिवेशन गर्न नेतृत्वलाई प्रतिनिधिहरूको अल्टिमेटम

पुस २८ भित्र विशेष महाधिवेशन गर्न नेतृत्वलाई प्रतिनिधिहरूको अल्टिमेटम

काठमाडौं : नेपाली कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न नेतृत्वलाई अन्तिम अल्टिमेटम दिएका छन्।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशनको कार्यतालिका असफल भइसकेको अवस्थामा अब ‘विशेष महाधिवेशन’ बाहेक अर्को विकल्प नरहेको निष्कर्ष निकालेका छन्।

विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट जारी विज्ञप्तिमा पार्टी विधानको धारा १७ (२) बमोजिम आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न नेतृत्वसँग जोडदार माग गरिएको छ।

विज्ञप्तिमा नेतृत्वको अस्पष्ट नीति, जालझेल र सत्तामा रहिरहने कपटपूर्ण सोचका कारण घोषित नियमित महाधिवेशन प्रभावित भएको आरोप लगाइएको छ।

‘पुस १६ गते हुनुपर्ने वडा अधिवेशन हुन सकेन, तर केन्द्रीय कार्यसमिति यसप्रति सामान्य जवाफदेही समेत नदेखिनु विडम्बनाको विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘घोषित मितिमा १५औँ महाधिवेशन नहुने कुरा स्पष्ट भइसकेको छ।’

प्रतिनिधिहरूले गत असोज २९ गते नै देशभरका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गराएको स्मरण गराएका छन्। विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेको खण्डमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कसैको छनोटको विषय होइन, रहेन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यात्मक व्यवस्था नमान्ने हो भने संविधान र विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ?’

विशेष महाधिवेशन मागकर्ताहरूले विधानले तोकेको ‘तीन महिना’ को समयसीमा २०८२ पुस २८ गते सकिने भएकाले सोही मितिभित्र महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने जिकिर गरेका छन्। उनीहरूले भनेका छन्, ‘हामीलाई विश्वास छ- पुस २७/२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ।’

यो विज्ञप्ति यस्तो समयमा आएको छ, जतिबेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित भएको घोषणा गर्दै विशेष महाधिवेशनका लागि भृकुटीमण्डप बुक गरिसकेका छन्। महामन्त्रीहरूको कदमलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको यो विज्ञप्तिले थप वैधानिकता र बल प्रदान गरेको छ।

महामन्त्रीद्वयले पनि बिहीबार नै नियमित महाधिवेशनको कार्यतालिका भत्किएको र विधानको रक्षाका लागि विशेष महाधिवेशनमा जानुपर्ने बताइसकेका छन्।

एकातिर महामन्त्रीहरूको विद्रोह र अर्कोतिर बहुमत प्रतिनिधिहरूको लिखित अल्टिमेटम आएपछि सभापति शेरबहादुर देउवा चरम दबाबमा परेका छन्। यही परिस्थितिको सामना गर्न सभापति देउवाले आज (शुक्रबार) दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन्।

विशेष महाधिवेशन पक्षधरहरूले भने यो मागलाई कसैको जित र हारको रूपमा नलिई पार्टीको आन्तरिक लोकतन्त्र जोगाउने अवसरका रूपमा ग्रहण गर्न नेतृत्वलाई आग्रह गरेका छन्।

पुष १८, २०८२ शुक्रबार १२:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।