बनभोजका लागि हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा दुई जनाको मृत्यु
गुल्मी : गुल्मीको मालिका गाउँपालिका-६ अर्जैस्थित राम्चेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
पोखराबारीबाट राम्चे तर्फ जाँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिँदा यो दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक ३६ वर्षीय बसन्त अर्याल र मोटरसाइकलको पछाडि सवार ६० वर्षीया मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार ६ वर्षीय बालक अनुभव गिरी भने सामान्य घाइते भएका छन्।
विद्यार्थी बोकेर वनभोजका लागि हिँडेको उक्त बस गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापाले चलाएका थिए। बस गुड्न सुरु गरेको करिब २० मिटरमै दुर्घटना भएको बताइएको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी इश्मा र जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थल पुगेको छ। प्रहरीले बस चालक थापालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
पुष १८, २०८२ शुक्रबार ११:०४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।