पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण अस्पतालमा बिरामीको चाप बढ्यो

पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण अस्पतालमा बिरामीको चाप बढ्यो

खजुरा : बाँकेलगायत पश्चिम तराईका जिल्लाहरूमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन अत्यधिक प्रभावित भएको छ।

बढ्दो चिसोका कारण विशेषगरी बालबालिका, विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर, विपन्न तथा असहाय वर्ग र ज्येष्ठ नागरिकहरू बढी मारमा परेका छन्।

अत्यधिक चिसोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। बिहान अबेरसम्म पसल तथा बजारहरू नखुल्ने र साँझपख पनि चिसो बढ्ने हुनाले बजार चाँडै सुनसान हुन थालेका छन्।

बाक्लो हुस्सुका कारण सडकमा ‘भिजिबिलिटी’ कम हुँदा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको नेपालगन्ज-१६ का सवारी चालक रामप्रसाद थारुले बताए।

चिसो बढेसँगै स्वास्थ्यसम्बन्धी समस्याहरू पनि देखिन थालेका छन्। भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालका अनुसार चिसोका कारण दम, निमोनिया, रुघाखोकी र ज्वरोजस्ता समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको छ।

उनले हाल दैनिक एक सयभन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए।

पुष १८, २०८२ शुक्रबार १०:१४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।