अस्ट्रेलियाली क्रिकेटर उस्मान ख्वाजाद्वारा सन्न्यासको घोषणा, सिड्नी टेस्ट नै अन्तिम हुने
सिड्नी : अस्ट्रेलियाली ब्याटर उस्मान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। आइतबारदेखि सिड्नीमा सुरु हुने इंग्ल्यान्डविरुद्धको एसेस सिरिजको अन्तिम टेस्ट नै उनको करिअरको अन्तिम खेल हुनेछ।
३९ वर्षीय ख्वाजाले आफ्नो ८८औँ टेस्ट खेल्दै क्रिकेट जीवनबाट बिदा लिनेछन्। संयोगवश, उनले सन् २०११ मा यही सिड्नी क्रिकेट ग्राउन्डमा इंग्ल्यान्डविरुद्ध नै डेब्यु गरेका थिए।
सिड्नी क्रिकेट ग्राउन्डमा परिवारसहित उपस्थित भएर सन्न्यासको घोषणा गरेका ख्वाजा पाकिस्तानमा जन्मिएका थिए। उनी १५ वर्षअघि अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेल्ने पहिलो मुस्लिम खेलाडी बनेका थिए।
आफ्नो करिअरमा उनले हालसम्म ८७ टेस्ट म्याच खेल्दै ४३.४ को औसतमा ६,२०६ रन बनाएका छन्, जसमा १६ शतक समावेश छन्। यसका साथै उनले अस्ट्रेलियाका लागि ४० एकदिवसीय र ९ टी-२० खेल पनि खेलेका छन्।
सन्न्यास घोषणा गर्दै ख्वाजाले आफूले अझै पनि ‘जातीय रुढीवादी धारणा’को सामना गर्नु परिरहेको गुनासो गरे। उनले भने, ‘म एक गर्विलो मुस्लिम हुँ, पाकिस्तानबाट आएको त्यो केटा, जसलाई भनिएको थियो कि ऊ कहिल्यै अस्ट्रेलियाली टिमबाट खेल्न सक्दैन। तर, आज मलाई हेर्नुहोस्।’
एसेस सिरिज सुरू हुनुअघि गल्फ खेल्दा उनको ढाडमा समस्या देखिएको थियो। त्यसपछि मिडिया र पूर्व खेलाडीहरूले उनलाई ‘अल्छी’, ‘स्वार्थी’ र ‘टिमप्रति समर्पित नभएको’ भन्दै आलोचना गरेका थिए।
यस विषयमा भावुक हुँदै उनले भने, ‘मेरो तयारी र निष्ठामाथि जसरी आक्रमण गरियो, त्यो व्यक्तिगत थियो। मलाई ‘अल्छी’ र ‘ट्रेनिङ नगर्ने’ भनियो। यी तिनै विभेदपूर्ण सोच हुन् जसलाई सहँदै म हुर्किएँ। मलाई लागेको थियो समाज र मिडिया यसबाट माथि उठिसके, तर अझै अवस्था उस्तै छ।’
पुष १८, २०८२ शुक्रबार ०८:३४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।