तराईमा हुस्सु र कुहिरोको प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरोको प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं : देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानहरू हुस्सु र कुहिरोले ढाकिएका छन्।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा राति पनि हुस्सु लाग्ने क्रम जारी रहनेछ।

तराई क्षेत्रमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।

पुष १८, २०८२ शुक्रबार ०७:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।