कांग्रेसका लागि २०१४ र २०८२ उस्तै, तर सुवर्ण शमशेरको त्यागको इतिहास लत्याएर जोखिम बढाउँदै देउवा

कांग्रेसका लागि २०१४ र २०८२ उस्तै, तर सुवर्ण शमशेरको त्यागको इतिहास लत्याएर जोखिम बढाउँदै देउवा

काठमाडौँ : नेपाली कांग्रेसभित्र अहिले पुस २८ को समयसीमालाई लिएर विशेष महाधिवेशनको चर्चा चुलिएको छ। नियमित महाधिवेशनको प्रक्रिया सुरु नभएपछि विशेष महाधिवेशनमार्फत अघि बढ्ने तयारी भइरहँदा, ७१ वर्षअघि २०१४ सालमा भएको कांग्रेसको पहिलो विशेष महाधिवेशनको प्रसंग यतिबेला सान्दर्भिक बनेको छ।

त्यो बेला पनि अहिले जस्तै पार्टीभित्र नेतृत्वको गतिशीलता र मुलुकको संकटपूर्ण घडीमा संगठनलाई कसरी अघि बढाउने भन्ने गम्भीर बहस भएको थियो। निर्वाचनको अन्योल र पार्टी नेतृत्वप्रतिको असन्तुष्टिले २०१४ मा विशेष महाधिवेशन भएको थियो। अहिलेको अवस्था पनि ठ्याक्कै यही हो।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन अगाडि पार्टीको नेतृत्व परिवर्तन गर्ने पक्षमा उभिएका छन्। संस्थापन पक्ष नियमित महाधिवेशनबाट नेतृत्व बदल्न तयारहुँदै नियमित महाधिवेशनको कार्यतालिका बनाए पनि अन्तमा महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशन सुरु नभएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेका छन्।

किन भएको थियो विशेष महाधिवेशन?

२०१४ सालको विशेष महाधिवेशनको मुख्य कारण 'आम निर्वाचनको अन्योल' र 'नेतृत्वको गतिशीलता' नै थियो। राजा महेन्द्रले २०१४ असोज २२ का लागि आम निर्वाचनको मिति घोषणा गरे पनि उनी निर्वाचन गर्ने पक्षमा देखिएका थिएनन्।

निर्वाचन आउन केही महिना मात्र बाँकी हुँदा पनि सरकारले तयारी नगरेपछि कांग्रेस सशंकित थियो। त्यसैले तोकिएको मितिमा निर्वाचन गराउन दबाब दिने र मतदातामाझ बलियो नेतृत्वसहित निर्वाचनमा जान कांग्रेसले विशेष महाधिवेशन गरेको थियो।

त्यसका लागि पार्टीका तत्कालीन सभापति सुवर्ण शमशेरले बीपी कोइराला जस्तो गतिशील र जनस्तरसम्म पकड भएको नेताले पार्टीलाई निर्वाचनमा प्रतिनिधित्व गर्नुपर्ने भनेर आफ्नै सक्रियतामा नेतृत्व सुम्पन विराटनगरमा विशेष महाधिवेशन बोलाएका थिए।

यसरी भएको थियो विशेष महाधिवेशन

२०१४ मा विशेष महाधिवेशनमा कांग्रेसले आफ्ना महासमिति सदस्यसहित राष्ट्रिय प्रजा पार्टीबीच एकताबाट आएका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूलाई पनि महाधिवेशन प्रतिनिधिको मान्यता दिएको थियो।

देशभरबाट ८ सयभन्दा बढी प्रतिनिधि, महासमिति सदस्य र पर्यवेक्षकहरूलाई विराटनगरमा भेला पारेर विशेष महाधिवेशनको आयोजना भएको थियो। महाधिवेशनको पहिलो दिन (जेठ १० गते) सुवर्ण शमशेरले सभापति पदबाट विधिवत् राजीनामा दिए। उनले बीपी कोइरालाले नेतृत्व सम्हाल्नुपर्ने 'सर्तसहितको राजीनामा' दिएका थिए।

राजीनामा स्वीकृत भएपछि नेपाली कांग्रेसको विधान–२०१२ अनुसार नयाँ सभापति चयनको प्रक्रिया सुरु गरियो। महामन्त्री रहेका कृष्णप्रसाद भट्टराईले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका थिए। निर्धारित समयभित्र बीपी बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनलाई 'निर्विरोध सभापति' घोषित गरिएको थियो।

नेतृत्व चयन र सांगठनिक संरचना

पुरुषोत्तम बस्नेतको पुस्तक ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ मा उल्लेख भए अनुसार महाधिवेशनमा सुवर्ण शमशेरले राजीनामा दिँदै "हामीले अब बन्दुक नबोकी शान्तिपूर्ण रूपमा प्रजातन्त्रको लडाइँ लड्नुपर्नेछ। यो लडाइँमा हामी हार्यौँ भने क्रान्तिको उपलब्धि समाप्त हुनेछ" भनेका थिए।

महाधिवेशनमा बीपी कोइरालाले अबको समय 'वार फुटिङ' (युद्धस्तर) मा चुनावको तयारीका लागि भएको घोषणा गरेका थिए। निर्वाचनलाई लक्षित गरी बीपीले तयार पारेको ऐतिहासिक चुनावी घोषणापत्र पनि सोही विशेष महाधिवेशनले पारित गरेको थियो।

जेठ ११ गते बीपी कोइराला सभापतिमा निर्विरोध भएपछि निर्वाचनलाई लक्षित गरेर देशलाई १० वटा सांगठनिक क्षेत्रमा बाँड्यो। धनकुटा क्षेत्रको कमान्ड बीपी आफैंले लिए भने काठमाडौँको गणेशमान सिंह र वीरगन्जको सुवर्ण शमशेरलाई जिम्मेवारी दिइयो।

संगठनको अनुगमन र व्यवस्थापनका लागि ३५ सदस्यीय ‘तजबिज कमिटी’ गठन गरियो, जसमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सरोजप्रसाद कोइराला लगायतका प्रभावशाली युवा नेताहरू समावेश थिए।

महाधिवेशनले सांगठनिक मात्र नभएर सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण प्रस्ताव पारित गरेको थियो। महाधिवेशनले जातीय भेदभाव र छुवाछुतको पूर्ण अन्त्य गर्नुपर्ने, बिना ज्याला काम लगाउने ‘बेठी बेगारी’ प्रथा रोक्नुपर्ने, सामन्ती बिर्ता र राजा-रजौटा प्रथा उन्मूलन गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो।

उस्तै समस्या तर फरक व्यवहार

२०१४ सालको विशेष महाधिवेशन मुलुकलाई चुनावमा लैजान र नेतृत्वलाई अझ बढी गतिशील बनाउन सफल भएको थियो। अहिले २०८२ मा आइपुग्दा कांग्रेसका महामन्त्रीद्वयले पनि विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र र संगठन सुदृढीकरणको मुख्य अजेण्डा बनाउने प्रयास गरेका छन्।

जेनजी आन्दोलनपछि पुराना दलहरूमा नेतृत्व परिवर्तनको माग अगाडि बढेको छ। वर्तमान नेतृत्वलाई कुशासनको प्रतीक मान्दै युवा पुस्ताले कांग्रेसमा पनि युवा नेतृत्वको माग गरिरहेका छन्।

नयाँ दलहरू एकीकृत भएर नीति र कार्यक्रम भन्दा पनि पुराना दलका कमजोरीमा प्रहार गर्दै लोकप्रिय हुने प्रयास गरिरहेका छन्। उनीहरू पनि गम्भीर अभियोग र विवादमा छन्। अदालतबाट धरौटीमा छुटेको नेतृत्व भए पनि कांग्रेससहितका पुराना दलका अलोकप्रिय नेतृत्वका कारण उनीहरू नै हाबी भइरहेका छन्।

आन्दोलनको स्वामित्व लिने राजनीतिक दलको खोजीमा रहेका जेनजीहरु पुराना दलमा रूपान्तरणको प्रतीक्षामा छन्। एमालेमा त्यो सम्भव भएन। बाँकी कांग्रेस हो। त्यसका लागि कांग्रेसभित्र युवा पुस्ता नेतृत्व लिन सक्रिय छन्। तर नेतृत्व गुम्ने भयले बदनाम पुस्ता महाधिवेशनै हुन नदिने रणनीतिमा लागेका छन्।

कांग्रेसको इतिहासमा विशेष महाधिवेशन सधैँ नेतृत्वलाई विस्थापित गर्न मात्र होइन, बरु संकटको बेला संगठनलाई नयाँ उर्जा दिन प्रयोग भएको देखिन्छ।

इतिहासमा सुवर्ण शमशेरले बीपीका लागि मार्ग प्रशस्त गरे झैँ अहिले युवा पुस्ताका लागि शेरबहादुर देउवासहितका पुस्ताले मार्ग प्रशस्त गर्नुपर्ने हो। तर उनीहरू नै व्यक्तिगत स्वार्थ हेरेर बाधक बनिरहेका छन्।  वर्तमानमा ५४ प्रतिशत प्रतिनिधिले मागेको विशेष महाधिवेशनको मागले कांग्रेसलाई रुपान्तरणमा लैजान्छ या फुटमा ? दृश्य प्रस्ट भइसकेको छैन।

सम्बन्धित समाचार


 

पुष १७, २०८२ बिहीबार २२:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।