सुनसरीमा किन चलायो सशस्त्र प्रहरीले गोली?

सुनसरीमा किन चलायो सशस्त्र प्रहरीले गोली?
एपीएफ अधिकारको तस्बिर एआईबाट बनाइएको हो।

सुनसरी : सुनसरीको सीमावर्ती क्षेत्रमा गएराति सामान तस्करी गर्ने समूह र सशस्त्र प्रहरीबीच मुठभेड हुँदा सशस्त्रको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ। घटनापछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको बिटमा आगजनी गर्दै लौकही बजार तनावग्रस्त बनाएका छन्।

कोशी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएको हो। घटना बुधबार राति करिब १ बजेतिर भएको हो।

कसरी भयो घटना?
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं डीएसपी चन्द्र खड्काका अनुसार भारतीय नाका हुँदै नेपालतर्फ अवैध रूपमा चिनी, सरफ, र सुर्तीजन्य सामानहरू सिटी सफारीमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले रोक्न खोजेको थियो।

सशस्त्र प्रहरीलाई देखेपछि तस्कर समूहले पहिले गोली चलाएको र जवाफी कारबाहीमा सशस्त्र प्रहरीले गोली चलाउँदा साहलाई लागेको प्रहरीको दाबी छ।

‘ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि आत्मरक्षाका लागि र स्थिति नियन्त्रणमा लिन जवाफी फायरिङ गर्दा उहाँको मृत्यु भएको हो’, डीएसपी खड्काले उकेरालाई बताए।

घटनालगत्तै मृतकका आफन्त र स्थानीयवासीले सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी हत्या गरेको आरोप लगाउँदै लौकही बजारमा प्रदर्शन सुरु गरेका छन्। आक्रोशित भीडले लौकहीस्थित सशस्त्र प्रहरीको बिटमा तोडफोड गरी आगजनी गरेको छ।

‘भीडले बिटमा आगजनी गरेको छ, अहिले लौकही बजार क्षेत्रमा आन्दोलन र प्रदर्शन भइरहेको छ’, डीएसपी खड्काले भने।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्। तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। नेपाल प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

पुष १७, २०८२ बिहीबार १३:१८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।