सुनसरीको सीमा क्षेत्रमा गोली चल्दा एक जनाको मृत्यु, तनावग्रस्त बन्यो बजार

सुनसरीको सीमा क्षेत्रमा गोली चल्दा एक जनाको मृत्यु, तनावग्रस्त बन्यो बजार

विराटनगर : सुनसरीको सीमावर्ती कोशी गाउँपालिका-१ स्थित पुरी टोलमा गोली लाग्दा एक स्थानीयको मृत्यु भएको छ। सशस्त्र प्रहरीको बेस क्याम्प लौकही नजिकै भएको उक्त घटनामा ४५ वर्षीय विजय साहको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार नेपाल-भारत सीमा नजिकै सिटी सफारीमा सामान ल्याउँदै गर्दा चालकलाई लक्षित गरी गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोली लागेर गम्भीर घाइते भएका साहको मृत्यु भएको हो।

प्रहरीले घटनास्थलबाट गोलीको खोका बरामद गरेको छ। घटनाको प्रकृति र गोली कसले चलायो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै स्थानीयबासी र मृतकका आफन्तले सशस्त्र प्रहरीबाट गोली चलेको आशंका गर्दै प्रदर्शन सुरु गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका छन्।

स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

पुष १७, २०८२ बिहीबार १२:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।