लुम्बिनीमा पनि सुध्रिएन कांग्रेस, शरणार्थी प्रकरणका आरोपीदेखि चेक बाउन्सको मुद्दा खेप्नेसम्म सिफारिस

लुम्बिनीमा पनि सुध्रिएन कांग्रेस, शरणार्थी प्रकरणका आरोपीदेखि चेक बाउन्सको मुद्दा खेप्नेसम्म सिफारिस

बुटवल : राजनीतिमा ‘पुस्तान्तरण’ र ‘रूपान्तरण’को बहस सबैभन्दा पेचिलो बनेको समय हो यो। जेन-जी आन्दोलनले पुराना राजनीतिक दलहरूलाई सच्चिन वा सकिन चेतावनी दियो। तर, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गरेका उम्मेदवार सिफारिस हेर्दा लाग्छ- नेतृत्वले भुइँको आवाज सुनेकै छैन।

लुम्बिनी प्रदेशका जिल्ला-जिल्लाबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी सिफारिस सूचीमा फेरि उही पुराना अनुहारहरूको वर्चस्व देखिएको छ।

यति मात्र होइन, नक्कली भुटानी शरणार्थी प्रकरणजस्तो गम्भीर फौजदारी अभियोग खेपिरहेकादेखि चेक बाउन्सको मुद्दा अदालतमा विचाराधीन रहेका व्यक्तिहरूसम्मलाई सिफारिस गरेको छ। पार्टी केन्द्रले बनाएको ‘मापदण्ड’लाई लत्याउँदै र नैतिकताको प्रश्नलाई किनारा लगाउँदै लुम्बिनी कांग्रेसले पठाएको यो सूचीले पार्टीभित्रै असन्तुष्टिको आगो सल्काएको छ।

गम्भीर आरोप लागेकालाई ‘ग्रीन सिग्नल’
राजनीतिक नैतिकताको कसीमा सबैभन्दा गम्भीर प्रश्न रूपन्देही क्षेत्र नं. ३ को सिफारिसमा उठेको छ। यहाँबाट नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख आरोपी पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम पहिलो नम्बरमा सिफारिस भएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा संलग्न भएको आरोपमा खाँण २०८० साल वैशाख २७ गते पक्राउ परेका थिए। करिब सात महिना जेल जीवन बिताएर २०८० मंसिर २९ गते धरौटीमा रिहा भएका खाँणको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।

२०७९ को निर्वाचनमा राप्रपाका दीपक बोहरासँग पराजित खाँणलाई यसपटक पनि उम्मेदवार बनाउन क्षेत्रीय समितिले सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीसँगै सिफारिस गरेर पठाएको छ।

विवादित पात्रको सिफारिस शृङ्खला यतिमै रोकिँदैन। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट कांग्रेसले नरेन्द्र गुप्तालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ, जो चेक बाउन्सको मुद्दा खेपिरहेका छन्।

सर्लाहीको अन्नपूर्ण सुगर मिल खरिद प्रकरणमा २ करोड २२ लाख रुपैयाँ भुक्तानी नभएको भन्दै विनोद शाह कलवारले गुप्ताविरुद्ध नवलपरासी जिल्ला अदालतमा दायर गरेको बैकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छ।

यस्तै, बाँके क्षेत्र नं. ३ बाट पनि बैकिङ कसुरको विवादमा मुछिएका महेन्द्र मल्ल ठकुरीको नाम सिफारिस भएको छ। यद्यपि, ठकुरीले भने आफू अर्काको साक्षी बस्दा कालोसूचीमा परेको र अहिले सम्बन्धित निकायबाट सफाइको पत्र पाइसकेको दाबी गर्दै आफ्नो बचाउ गरेका छन्।

केन्द्रको ‘मापदण्ड’ र जिल्लाको ‘मनपरी’
उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन कांग्रेस केन्द्रले स्पष्ट मापदण्ड बनाएको थियो- ‘हाल बहालवाला प्रदेश सांसद तथा स्थानीय तहका पदाधिकारीहरूलाई प्रतिनिधि सभामा उम्मेदवार सिफारिस नगर्ने।’ तर, लुम्बिनीका जिल्ला कार्यसमितिहरूले केन्द्रको यो निर्देशनलाई रद्दीको टोकरीमा फालिदिएका छन्।

‘एक व्यक्ति, एक पद’को नारा घन्काउने कांग्रेसभित्रै दोहोरो लाभको पदमा रहेकाहरूलाई च्याप्ने प्रवृत्ति देखिएको छ। पार्टीको परिपत्र विपरीत रूपन्देही क्षेत्र नं. १ बाट हालका लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकलाई प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरिएको छ। रज्जाक यसअघि दुईपटक सोही क्षेत्रबाट उम्मेदवार बनिसकेका व्यक्ति हुन्।

त्यस्तै, पाल्पा क्षेत्र नं. २ बाट वीरबहादुर रानालाई सिफारिस गरिएको छ, जो हाल लुम्बिनी प्रदेश सभाका बहालवाला सदस्य हुन्। प्रदेशको जिम्मेवारी पूरा नहुँदै संघमा हाम फाल्ने नेताहरूको महत्त्वाकांक्षा र त्यसलाई सदर गर्ने तल्लो तहको सिफारिसले पार्टीको अनुशासन पद्धतिमाथि नै प्रश्नचिह्न खडा गरेको छ।

पुरानाकै हालीमुहाली, युवालाई सास्ती
पटक-पटक अवसर पाएर परीक्षण भइसकेका नेताहरूकै वरिपरि लुम्बिनीको राजनीति घुमिरहेको छ। रूपन्देही क्षेत्र नं. ५ मा पूर्व अर्थराज्यमन्त्री तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको नाम एकल सिफारिस गरिएको छ।

तीनपटक जित र दुईपटक हार व्यहोरिसकेका शाहलाई पुनः एकल सिफारिस गरिएपछि पार्टीभित्रको संस्थापन इतर समूह रुष्ट बनेको छ। शाहको एकल सिफारिसलाई चुनौती दिँदै इतर समूहले विष्णु पोखरेलसहितका नेताहरूको नाम छुट्टै संकलन गरी सिधै केन्द्रमा पठाएको छ, जसले पार्टीभित्रको गुटबन्दीलाई छताछुल्ल पारेको छ।

उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. २ बाट देवेन्द्रराज कँडेलको एकल नाम सिफारिस भएको छ। बर्दिया क्षेत्र नं. १ मा तीनपटक सांसद भइसकेका सञ्जय गौतमलाई पहिलो नम्बरमा राखेर चार जनाको नाम पठाइएको छ भने गुल्मी क्षेत्र नं. १ बाट चन्द्र भण्डारीसहित ७ जना सिफारिसमा परेका छन्।

शक्ति र पहुँचको आधारमा नेताहरूले आफू सुरक्षित हुन दुई-दुई ठाउँबाट समेत नाम सिफारिस गराएका छन्। कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोर बाँके क्षेत्र नं. ३ र बर्दिया क्षेत्र नं. २ गरी दुवै ठाउँबाट सिफारिसमा परेका छन्। बर्दिया-२ बाटै कांग्रेस नेतृ आरजु राणा देउवाको नाम पनि अटाएको छ।

कपिलवस्तु क्षेत्र नं. ३ बाट चिनी उद्योगी एवं लुम्बिनी प्रदेशका पूर्वसांसद वीरेन्द्रकुमार कनोडियाको नाम एकल सिफारिस भएको छ। प्युठानबाट डा. गोविन्दराज पोखरेललाई पहिलो नम्बरमा राखेर ३ जनाको नाम पठाइएको छ।

नेतृत्वको बचाउ र युवाको आक्रोश
पुराना अनुहार र विवादित पात्रहरूको बाहुल्य रहेको सिफारिस सूचीको बचाउ गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले राजनीति उमेरले नभई विचार र क्षमताले चल्ने तर्क गरे। ‘राष्ट्रिय व्यक्तित्वहरू पटक-पटक चुनाव जितेर केन्द्रमा जानु स्वभाविक हो,’ सभापति पुन भन्छन्, ‘यसअघि उम्मेदवार भएकाहरू अहिले सिफारिस हुनुहुँदैन भन्ने छैन।’

तर, नेतृत्वको यो तर्कसँग युवा पुस्ता सहमत छैन। कांग्रेस युवा नेतृ तथा प्रदेश सांसद निमा गिरी दलहरूले उम्मेदवार सिफारिस गर्दा बदलिँदो जनभावना र युवाको मनोविज्ञान बुझ्न नसकेको बताउँछिन्। ‘अहिलेको अवस्था हेरेर, युवा पुस्ताको भावना अनुसार नेतृत्वले उम्मेदवार चयनमा ध्यान दिनुपर्छ,’ उनले भनिन्।

त्यस्तै, युवा नेता मुक्तिप्रसाद पौडेलले पनि युवाहरूको क्षमतालाई बुझेर स्थान नदिए निर्वाचनमा प्रतिस्पर्धा गर्न कठिन हुने चेतावनी दिए। ‘युवालाई स्थान दिँदा मात्रै निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न सहज हुन्छ,’ उनको भनाइ छ।

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ २६ वटा निर्वाचन क्षेत्र छन्। रूपन्देहीमा ५, कपिलवस्तु, दाङ र बाँकेमा ३/३, नवलपरासी (पूर्व), बर्दिया, गुल्मी र पाल्पामा २/२ तथा रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँचीमा १/१ निर्वाचन क्षेत्र रहेका छन्।

कांग्रेसले लुम्बिनीबाट प्रतिनिधि सभाका २६ र राष्ट्रिय सभाका ३ गरी कुल २९ जना उम्मेदवारका लागि २४३ जनाको जम्बो टोलीको नाम केन्द्रमा पठाएको छ।

पुष १७, २०८२ बिहीबार १२:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।