दिनेश राउतको ‘कुमारी’बाट ‘डोको बुन्ने’ गीत सार्वजनिक, ३४ वर्षपछि सोही नाममा नयाँ फिल्म

दिनेश राउतको ‘कुमारी’बाट ‘डोको बुन्ने’ गीत सार्वजनिक, ३४ वर्षपछि सोही नाममा नयाँ फिल्म

काठमाडौं : नेपालको पहिलो रङ्गीन फिल्म ‘कुमारी’ प्रदर्शनमा आएको ३४ वर्षपछि सोही नाममा निर्देशक दिनेश राउतले नयाँ फिल्म निर्माण गरेका छन्।

आगामी माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मको प्रचारप्रसार स्वरुप बुधबार ‘डोको बुन्ने’ बोलको गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक लोकलयको गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ भने शब्द सागर लामिछाने मगर र सुमन तामाङले कोरेका हुन्। गीतमा संगीत पनि सुमन र केहरले नै भरेका छन्।

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय अभिषेक खड्का र आकृति राजभण्डारीको अभिनय देख्न सकिन्छ। यी दुवै कलाकारले यसै फिल्मबाट डेब्यु गरेका हुन्।

यसअघि फिल्मका ‘तिमी बिना’ र ‘कता छौ मेरो फूल’ बोलका गीत सार्वजनिक भइसकेका छन्। विशेषगरी ‘कता छौँ मेरो फूल’ गीत यतिबेला युवापुस्तामाझ चर्चित छ।

‘आई एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’, ‘पुजार सार्की’ र ‘प्रकाश’ जस्ता सफल फिल्म निर्देशन गरेका राउतको अघिल्लो फिल्म ‘महाभोज’ बक्स अफिसमा असफल भएको थियो।

स्टार कलाकारले भरिएको ‘महाभोज’ नचलेको झोकमा ‘कुमारी’ मा नयाँ कलाकार लिएको भन्ने चर्चा चले पनि निर्देशक राउतले त्यसलाई अस्वीकार गरेका छन्। उनले कथाको मागअनुसार नै नयाँ कलाकार छनोट गरेको दाबी गरेका छन्।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको फिल्ममा अभिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायतको अभिनय छ।

विकास सुवेदीको कथा तथा पटकथा रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी र कार्यकारी निर्माता केदार भुसाल हुन्। सुसन प्रजापतिको छायाङ्कन रहेको फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। फिल्मलाई काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्दैछन्।

स्मरण रहोस्, ३४ वर्षअघि प्रेमबहादुर बस्नेतको निर्माण तथा निर्देशनमा बनेको ऐतिहासिक फिल्म ‘कुमारी’ मा सल्यान केसी र चैत्यदेवीको मुख्य भूमिका थियो। अहिले सोही नाम सापट लिएर निर्देशक राउतले नयाँ कथा पेश गर्न लागेका हुन्।

पुष १७, २०८२ बिहीबार ११:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।