तराईमा हुस्सुको प्रभाव कायमै, उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सुको प्रभाव कायमै, उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसममा सामान्य परिवर्तन देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ भने पहाडी भेगमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु कायमै रहनेछ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। राति पनि सम्बन्धित प्रदेशका उच्च भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, तथा सडक यातायातमा आंशिक असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन र मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणमा अनुरोध गरेको छ।

पुष १७, २०८२ बिहीबार ०७:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।