रकम असुल्ने दुई नक्कली प्रहरी पक्राउ

रकम असुल्ने दुई नक्कली प्रहरी पक्राउ

काठमाडौं : नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन्। नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइएको प्रहरी हौं भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका-६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई बुधबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

यसैबीच, प्रहरीले बाफलबाट करिब चौध लाख सन्तानब्बे हजार पाँच सय भन्सार छलीका सामान बरामद गरेको छ। धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छली गरी ल्याइएका मोबाइलका विभिन्न सामग्री बरामद गरेको हो।

प्रहरीले सो बसका चालक कञ्चनपुरको बेलौरी नगरपालिका-६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् पक्राउ परेको व्यक्ति र सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको काठमाडौं प्रहरीले जनाएको छ। 

पुष १६, २०८२ बुधबार १७:४८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।