सेलिब्रिटी पोलटिक्स र पपुलिजम : रवि-बालेनले समातेको मोदी पथ

सेलिब्रिटी पोलटिक्स र पपुलिजम : रवि-बालेनले समातेको मोदी पथ

काठमाडौं : विश्व राजनीतिमा अहिले एउटा तरंग फैलिएको छ- ‘सेलिब्रिटी पोलिटिक्स’ र ‘पपुलिजम’। कुनै समयमा राजनीति गर्नका लागि कपाल फुलाउनुपर्थ्यो, जेलनेल भोग्नुपर्थ्यो, भूमिगत हुनुपर्थ्यो र संगठनको पिँधदेखि टुप्पोसम्म खारिनुपर्थ्यो। तर, आजको डिजिटल संसारमा ‘ग्लायमर’, ‘भाइरल कन्टेन्ट’ र ‘स्क्रिन प्रिजेन्स’ नै सत्ता आरोहणको नयाँ र सबैभन्दा छिटो भर्याङ बनेको छ।

रियालिटी शोबाट दर्शकमाझ छाउँदै अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प, कमेडी गर्दागर्दै राजनीतिमा होमिएका युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्की अनि पाकिस्तानलाई क्रिकेट विश्वकपको उपाधि जिताएर हिरोको रूपमा राजनीतिक प्रवेश गर्दै प्रधानमन्त्री बनेका पाकिस्तानी क्रिकेटर इमरान खान यसका पछिल्ला उदाहरणहरू हुन्।

विशेष गरी, नेपालको सन्दर्भमा यो बदलाव सोचेभन्दा छिटो र नाटकीय रूपमा देखा पर्यो। ‘मिसन ८४’ को रटान लगाइरहेको नेपाली राजनीतिक दलहरूलाई भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलनले झस्काइदियो। सुशासनको नारामा सडकमा देखिएको त्यो प्रदर्शन, प्रदर्शनमा मात्र सीमित भएन सरकारै ढाल्यो।

सोही आन्दोलनले देशको राजनीतिक क्यालेन्डर नै बदलिदियो। अब २०८४ को निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। चुनाव हुने/नहुने दोधारका बीच दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको सूची बुझाएसँगै देश निर्वाचनमा होमियो।

आयोगमा बुझाइएका समानुपातिक सूचीहरू र रिलिज भएका नयाँ राजनीतिक समीकरणहरूलाई केलाउँदा एउटा स्पष्ट तस्बिर देखिन्छ- चुनाव विचार वा दर्शनको लडाइँ मात्र होइन, यो ‘फेस भ्यालु’, ‘फ्यान फलोइङ’ र ‘सेलिब्रिटी ब्रान्डिङ’ पनि हो।

निर्वाचनमा छिमेकी भारतमा भारतीय जनता पार्टी(भाजपा)ले जसरी कलाकारलाई प्रभाव विस्तारको ‘सफ्ट पावर’का रूपमा प्रयोग गर्यो, नेपालमा रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङको त्रिपक्षीय एकतापछि बनेको नयाँ शक्तिले त्यसलाई अझ आक्रामक रूपमा आत्मसाथ गरेको देखिन्छ।

यसको प्रारम्भ बालेनको स्वतन्त्र उम्मेदवारको यात्राबाट भएको थियो। त्यसलाई रविले २०७९ को निर्वाचनमा विस्तारको प्रयास गरे। २०८२ मा दुवै मिल्दा यसको मात्रा बढ्यो, जुन समानुपातिक सूचीमा पनि देखियो। प्रत्यक्षमा देखिन बाँकी छ।

भाजपाको ‘सफ्ट पावर’: रिलदेखि रियलसम्मको यात्रा
भारतजस्तो विविधतापूर्ण र विशाल लोकतन्त्रमा भाजपाले ‘सेलिब्रिटी कार्ड’लाई रणनीतिक रूपमा पार्टीको पक्षमा प्रयोग गरिरहेको छ। यसले पार्टी र सेलिब्रिटी दुवैलाई फाइदै छ। घाटा समाज र सद्भावलाई मात्र हो।

भाजपाले कलाकारहरूलाई केवल चुनाव जित्ने उम्मेदवार मात्र नभई, उनीहरू पार्टीको ‘हिन्दुत्व र राष्ट्रवाद’को भाष्य जनतासामु पुर्याउने ‘ब्रान्ड एम्बेसेडर’ समेत बनेका छन्।

हेमा मालिनी, सन्नी देओल, कंगना रनौत, रवि किशनदेखि हालसालै भजन गायिका मैथिली ठाकुरसम्मका अनुहारहरूले पार्टीको कठोर राजनीतिक एजेन्डालाई आफ्नो ‘फ्यान फलोइङ’ सँग जोडिदिने काम गरेका छन्।

तर, भाजपाको रणनीति यति मात्र होइन। उसको शासनकालमा बलिउडमा एउटा नयाँ समानान्तर धारको पनि उदय भयो- ‘आइडोलोजिकल फिल्म’ अर्थात विचारधारात्मक सिनेमा’। ‘द कश्मीर फाइल्स’, ‘द केरला स्टोरी’, ‘उरी: द सर्जिकल स्ट्राइक’ र प्रधानमन्त्री मोदीको बायोपिक जस्ता फिल्महरूले पार्टीको राजनीतिक एजेन्डालाई आम मानिसको भावनासँग जोड्न ठूलो भूमिका खेले।

यसैको पछिल्लो उदाहरण हो- हालै प्रदर्शनमा आएको फिल्म ‘धुरन्धर’। यो फिल्म पूर्णतः मोदी सरकारको विचारधारा र कार्यशैलीको वरपर घुमेको छ। फिल्ममा देखाइएको राष्ट्रवाद, हिन्दूत्वको पक्षपोषण अनि मुस्लिमहरूको खलनायकीकरण सत्ताको भाष्यसँग हुबहु मेल खान्छ।

यसले भाजपाले सिनेमालाई मनोरञ्जनको साधन मात्र नभई जनमत निर्माण गर्ने ‘प्रपोगान्डा टुल’का रूपमा सफलतापूर्वक प्रयोग गरिरहेको देखिन्छ।

रास्वपा अनि ‘दिमाग खराब’
नेपालमा पनि राजनीतिको यो शैली विस्तारै जरा गाड्दैछ। विशेष गरी रवि-बालेन-कुलमान एकताले नेपाली राजनीतिमा ‘सेलिब्रिटी पपुलिज्म’ लाई संस्थागत गर्ने भाजपाको बाटो समातेको देखिन्छ। यसको गृहकार्य भने तत्काल बनेको हैन। सांस्कृतिक रूपमा हेर्दा, निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ त्यस्तै राजनीतिक प्रयोग थियो।

फिल्ममा रास्वपाले अहिले प्रयोग गरिरहेको जस्तै ‘निलो झन्डा’लाई परिवर्तन र मुक्तिको वाहकका रूपमा देखाइएको छ भने पुराना दलहरूले प्रयोग गरिरहेको ‘रातो झन्डा’लाई शोषण र यथास्थितिको प्रतीकका रूपमा चित्रण गरिएको छ।

निर्देशक निश्चल बस्नेत स्वयं रवि-बालेन-कुलमान एकताका सूत्रधारमध्येका एक हुनु र रास्वपा स्थापनाकालदेखि नै उनको निरन्तर समर्थन रहनुले उक्त फिल्म मनोरञ्जनको आवरणमा राजनीतिक अजेन्डासहित बनेको पुष्टि गर्छ।

फिल्मको गीत ‘लेखौँ भविष्य...’ अहिले नयाँ दलका कार्यकर्ताको अघोषित ‘एन्थम’ नै बनेको छ। यो गीत नयाँ दलका कार्यकर्ता र समर्थकहरूले सामाजिक सञ्जालमा टिकटक र रिल्स बनाउन प्रयोग गरिरहँदा पुराना दलका कार्यकर्ताहरू कमै प्रयोग गर्छन्।

अहिले प्रदर्शनरत फिल्म ‘झरी पछिको ईन्द्रेणी’ बालेनका ‘ब्रेन’ कुमार बेनको योजनामा बनेको हो। युवा आन्दोलन चर्काउन फिल्म बनेको थियो। पहिल्यै जेन-जी आन्दोलन भएपछि फिल्म फ्लप भयो तर उद्देश्य भने सफल भयो।

‘रवि-बालेन-कुलमान’: पपुलिज्मका त्रिमूर्ति
आम सर्वसाधारणले रवि लामिछानेलाई टेलिभिजन एंकरको रूपमा चिनेका हुन्। ‘सिधा कुरा जनतासँग’ र ‘सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रममा दिएको आक्रामक प्रस्तुति र विदेशमा समस्यामा परेका कयौं व्यक्तिहरूको उद्धार गरेको रिपोर्टहरूका कारण केहीले उनलाई ‘मुक्तिदाता’ समेत मान्छन्।

बालेन शाह डोजर चलाउने, संरचना भत्काउने र तत्काल नतिजा देखाउने ‘स्टन्ट’ र ‘डेलिभरी’को मिश्रण हुन्। शहरी र नव-युवाहरूको विद्रोहको प्रतिनिधिको रूपमा उनले आफूलाई लिन्छन् र जेन-जी आन्दोलनपछि पनि उनी त्यस्तै देखिए पनि। जेन-जी युवाहरूले प्रधानमन्त्री बन्न अफर गरे पनि उनी फोनै नउठाइ बसिरहे।

यता कुलमान घिसिङ लोडसेडिङ हटाएका कारण चर्चामा आएका अर्का सेलिब्रिटी कर्मचारी हुन्। यसका अलावा आफ्नो कार्यकाल बाँकी छँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएपछि पनि उनीमाथि जनताको सेन्टिमेन्ट थियो नै! त्यही सेन्टिमेन्ट र पपुलारिटीले उनलाई भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी समेत दिइयो।

०००

२०७९ को निर्वाचनको छ महिनाअघि स्थापना भएको रास्वपामा सेलिब्रिटीहरू पार्टीको सहयोगी मात्र रहेनन्, सेलिब्रिटी रवि नै पार्टीका मुल नेता बने। छोटो समयका कारण उनीहरू परम्परागत पार्टीहरूले जस्तो गाउँ-गाउँमा गएर संगठन बनाउन लागेनन्। बरु फेसबुक, टिकटक र युट्युब लाइभलाई प्राथमिकता दिए।

त्यसैको प्रभावले हो उनीहरूलाई शहरका मतदाताले मात्र पत्याएको। गाउँमा उनीहरूको मत शून्यप्राय: थियो। त्यहीबाट पाठ सिकेर होला अहिले उनीहरू परम्परागत पार्टीले झैँ गाउँ-गाउँमा संगठन बनाउन लागेका छन्।

यसका अलावा संसद र अन्य भाषणमा बोलेका भावनात्मक भाषणको ‘छोटो क्लिप’हरू भाइरल बनाइरहेका हुन्छन् रास्वपा नेताहरू। यसले इन्टरनेटको पहुँचमा भएका मतदातामाझ उनीहरू सहजै पुगे। अहिले पनि इन्टरनेट नभएका गाउँमा रास्वपाको सांगठनिक संरचना अन्य दलको तुलनामा कमजोर छ।

रास्वपाले गरेको अर्को काम हो- बौद्धिक सेलिब्रिटीको ब्रान्डिङ। पार्टीमा रहेका डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ वा शिशिर खनाल जस्ता पात्रहरूलाई अघि सारेर उसले हामीसँग राजनीतिक चेत र बौद्धिक क्षमता भएका साथीहरू प्रशस्तै छन् भन्दै उनीहरूको ब्रान्डिङ गर्यो। यो रणनीतिले शहरका युवालाई मात्र नभएर मध्यमवर्गीय र शिक्षित मतदातालाई आकर्षित गर्यो।

आफ्नो ‘अपराध’ र बदमासी लुकाउन सेलिब्रिटी निकै सहयोगी हुन्छन्। भाजपा नेता नरेन्द्र मोदीकै तहको त हैन, तर तीन नेता रवि-बालेन-कुलमानको ट्रयाक रेकर्ड र वर्तमान सफा छैन।

रविको सहकारी ठगी प्रकरण अदालतमा विचाराधीन नै छ। एक समय संसद र सडकमा आक्रामक शैलीमा प्रस्तुत हुने रास्वपाका नेता र कार्यकर्ता रवि लामिछानेमाथि लागेको सहकारी ठगीको  आरोप र मुद्दापछि यसरी रक्षात्मक बने कि उनीहरू सार्वजनिक कार्यक्रमहरूमा त्यसमाथि प्रश्नै सुन्न चाहन्थेनन्।

 

रवि आरोप र अभियोगको भारी बोकिरहेका छन्। तर, राजनीतिमा नैतिक रूपमा पतित र कानुनी रूपमा दन्डित हुनुपर्ने घटनाहरूमा उनको संलग्नता र सक्रियता देखिए पनि यही भाइरल र सेलिब्रिटी ग्याङले छोपिदिएका छन्। गम्भीर ठगीमा पनि सेलिब्रिटीले फसाएको जस्तो लाग्छ भन्नु उही मोदीको सानोतिनो अभ्यास नै हो।

एक तहका सेलिब्रिटीका लागि बालेनले शहरी क्षेत्रको गरिबमाथि अत्याचार गर्नु सामान्य नै हो जस्तै देखिन्छ। उनीहरू यस्ता घटनामा चुप बस्छन्। उनीहरू बालेनको मुस्कानबाटै कायल हुन्छन्।

काठमाडौं महानगरको मेयरको रूपमा बालेनले के-के काम गरे? यो उनीहरूको सरोकारको विषय हैन। उनीहरूको सरोकार परिआए सामाजिक सन्जालमा ‘मा...मु’ हान्ने प्रधानमन्त्री भएको देश बनाउनु हो।

युट्युबरको प्रयोगमा कुलमान पोख्त नै हुन्। राजनीतिमा अलि कच्चा भए पनि उज्यालो नेपाल पार्टीमा रिमालाई फेस बनाएर उनी पनि यही अभ्यासमा लागिहालेका थिए। अब त रास्वपामै गए।

समानुपातिक सूचीका कुरा पनि गरिहालौं
आगामी फागुन २१ को निर्वाचनका लागि रवि-बालेन-कुलमान नेतृत्वको मोर्चाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची अहिले सर्वाधिक चर्चा र बहसको विषय बनेको छ। यो सूची हेर्दा लाग्छ- पार्टीले ‘संसद’ र ‘स्टुडियो’बीचको भेद मेटाउन खोजिरहेको छ।

सूचीमा लामो समय नीति निर्माणमा काम गरेका, कानुनका ज्ञाता वा समाजका पिँधमा रहेर काम गरेका व्यक्तित्वहरूभन्दा पर्दाका लोकप्रिय अनुहारहरू र नेताका आफन्तहरूको बाहुल्यता छ।

नायिक तथा टिभी होस्ट रिमा विश्वकर्मा, निर्देशक तथा होस्ट​​​​​​ आशिफ शाह, गीतमार्फत सामाजिक मुद्दा उठाइरहेका गायक प्रकाश सपूत, युवा पुस्तामाझ लोकप्रिय गायिका तथा सोसल मिडिया इन्फ्लुएन्सर त्रिशाला गुरुङ अनि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा तथा फुटबल क्लब चितवनका अध्यक्ष  सचिन ढकाल समानुपातिक सूचीमा छन्।

यी नामहरू आफैँमा आ-आफ्नो क्षेत्रमा सफल र प्रतिष्ठित छन्। तर प्रश्न उठ्छ- के लोकप्रियता नै राजनीतिक योग्यताको एक मात्र मापदण्ड हो? रास्वपा र नयाँ गठबन्धनको रणनीति स्पष्ट छ-टिकटक, इन्स्टाग्राम र युट्युबबाट उदाएका वा स्थापित भएका अनुहारहरूलाई संसदमा लगेर ‘युवा सेन्टिमेन्ट’ र ‘भ्यूज’लाई भोटमा बदल्ने।

यो रणनीतिले चुनाव त जिताउन सक्ला, तर भोलि संसदमा जटिल विधेयकहरूमाथि दफावार छलफल हुँदा, अर्थतन्त्रका सुक्ष्म सूचकहरूमा बहस हुँदा वा भू-राजनीतिक सन्तुलन मिलाउनुपर्दा यी ‘सेलिब्रिटी सांसद’ हरूले कस्तो भूमिका खेल्लान्? यो गम्भीर चिन्ताको विषय हो।

चुनौती र जोखिम
‘सेलिब्रिटी राजनीति’ले युवाहरूलाई राजनीतिप्रति आकर्षित त गरेको छ, ‘नो नट अगेन’ को नारालाई सार्थक बनाउन मद्दत पनि गरेको छ। तर, यसले लोकतन्त्रका लागि केही गम्भीर र दूरगामी जोखिमहरू पनि निम्त्याएको छ।

राजनीति जब एजेन्डा र विचारभन्दा माथि उठेर अनुहारमा केन्द्रित हुन्छ, त्यहाँ नेतृत्वमाथि प्रश्न उठाउने ठाउँ साँघुरो हुन्छ। रास्वपामा अहिले रवि लामिछाने नै पार्टी हुन् र पार्टी नै रवि लामिछाने हो। यदि नेतृत्वमाथि कुनै नैतिक वा कानुनी प्रश्न उठ्यो भने सिङ्गो पार्टी र आन्दोलन नै तासको महल झैँ ढल्ने जोखिम रहन्छ।

यसका अलावा पपुलिस्ट राजनीति अक्सर जटिल समस्याको सजिलो र ‘सुन्नमा राम्रो लाग्ने’ समाधान खोज्छ। गरिबी, बेरोजगारी, वा परराष्ट्र सम्बन्ध जस्ता विषयहरू टिकटकको ३० सेकेन्डको भिडियोमा समाधान हुँदैनन्। ‘सेन्टिमेन्टल’ भाषणले भीड त जम्मा पार्ला, तर के त्यसले देशको संरचनागत समस्या हल गर्ला?

पपुलिस्ट नेतृत्वले आफ्नो लोकप्रियता जोगाउन वा बढाउन संवैधानिक निकाय, अदालत वा मिडियालाई ‘भ्रष्ट’ वा ‘पुरानाको मतियार’ करार गरेर आक्रमण गर्ने प्रवृत्तिले लोकतन्त्रको जग कमजोर पार्छ। नेपालमा रवि लामिछानेदेखि अमेरिकामा डोनाल्ड ट्रम्पसम्मले मिडिया र अदालतमाथि आक्रमण गरे। कहिले मिडियालाई ‘१२ भाइ’ भनेर त, कहिले आफूविरुद्धका फैसला आउँदा ‘अदालत बिक्ने गरेको छ’ भनेर।

फागुन २१ को निर्वाचन नेपाली राजनीतिका लागि एउटा निर्णायक क्षण हो। यसबाट एउटा कुरा निश्चित छ- नेपाली राजनीति अब कालो कोट, दौरा सुरुवाल र लामा भाषणमा मात्र सीमित रहेन। राजनीतिमा नयाँ अनुहार आउनु र कलाकारहरूले नीति निर्माणमा चासो राख्नु स्वागतयोग्य हो। तर, ती अनुहारहरू केवल ‘पर्दाका हिरो’ मात्र नभई ‘नीतिगत हिरो’ पनि बन्नुपर्छ।

पुष १६, २०८२ बुधबार १३:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।