वीरगञ्जमा शीतलहरले जनजीवन प्रभावित, फेरि तीन दिन विद्यालय बन्द
वीरगञ्ज : पछिल्लो दुई सातादेखि तराईमा बढेको अत्याधिक चिसो र शीतलहरका कारण वीरगञ्ज महानगरपालिकाले विद्यालयहरूको पठनपाठन फेरि बन्द गर्ने निर्णय गरेको छ।
महानगरले बुधबारदेखि लागू हुने गरी थप तीन दिन विद्यालय बन्दको घोषणा गरेको हो। महानगरपालिकाले यो सिजनमा जाडोका कारण विद्यालय बन्द गरेको यो तेस्रो पटक हो।
वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाका अनुसार, पुस १६ गतेदेखि १८ गतेसम्म महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्। यसअघि महानगरले दुई चरणमा गरी पाँच दिन जाडो बिदा दिइसकेको छ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि शीतलहर र चिसो निरन्तर बढिरहेकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै बिदा थपिएको जानकारी दिए।
महानगरले यो बिदालाई आगामी बर्खे बिदाबाट कट्टा हुने गरी मिलान गरेको छ। बिदा सकिएपछि पुस २० गतेदेखि विद्यालयहरू पुनः सञ्चालनमा आउने जनाइएको छ।
पुष १६, २०८२ बुधबार ०८:४५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।