जेनजी अगुवा रक्षा बमको आरोप : 'समानुपातिक प्रणाली सांसद बिक्री गर्ने केन्द्र बन्यो'

जेनजी अगुवा रक्षा बमको आरोप : 'समानुपातिक प्रणाली सांसद बिक्री गर्ने केन्द्र बन्यो'

काठमाडौँ : जेनजी अगुवा तथा युवा अभियन्ता रक्षा बमले नेपालको निर्वाचन प्रणालीमा रहेको समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई राजनीतिक दलहरूले दुरुपयोग गरेको भन्दै गम्भीर आपत्ति जनाइन्।

फागुन २१ का लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको सूचीप्रति उनले गम्भीर असहमति जनाइन्। अभियन्ता बमले संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था सदियौँदेखि पछाडि पारिएका समुदाय, वर्ग र आवाजलाई सदनसम्म पुर्याउन समानुपातिक प्रणाली राखेको उल्लेख गरिन्।

"निश्चित वर्गको हालीमुहाली तोड्न र असमान शक्ति वितरणका कारण पछि परेकाहरूको उत्थानका लागि यो प्रणाली ल्याइएको थियो," उनले फेसबुकमा लेखेकी छिन्।

दलहरूले यसको मर्म विपरीत काम गरिरहेको भन्दै उनले लेखेकी छिन् "दुखद कुरा, हजारौँको बलिदानबाट प्राप्त यो प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री गर्ने र आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। दलहरूको समानुपातिक सूची देख्दा मन खिन्न हुन्छ।"

सुदूरपश्चिम अझै उपेक्षित

सुदूरपश्चिमको मौलिक पर्व 'पुसे १५' को सन्दर्भ जोड्दै बमले राजधानी काठमाडौँले सुदूरपश्चिमको भूगोल र जनतालाई अझै पनि उपेक्षा गरिरहेको लेखिन्। उनले सुदूरपश्चिम अझै पनि राज्यको नजरमा 'सुदूर' नै रहेको उल्लेख गरेकी छिन्।

"रातभरि जागै बसेर पकाएको भुन्या रोटीको स्वादसँगै हामीले यो पनि सम्झनुपर्छ कि हामी देशको केन्द्रबाट अझै टाढा छौँ," उनले लेखेकी छिन्, "यो देशको सत्तालाई सुदूरपश्चिम पनि नेपालकै मानचित्रमा पर्छ भन्ने कुरा सम्झाउन अब आवश्यक भइसकेको छ।"

पुष १५, २०८२ मंगलबार २२:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।