एकताको खुसीयाली नसकिँदै प्रश्नको घेरामा रास्वपा : राउतले भनिन्- ‘यो प्रतिनिधित्व होइन, धोका हो’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीमा स्थापित र ‘ब्रान्डेड’ अनुहारहरूलाई प्राथमिकता दिइएपछि आलोचना सुरु भएको छ। 'जेनजी' अभियन्ता भावना राउतले समानुपातिक निर्वाचन प्रणालीको आधारभूत सिद्धान्त र मर्म विपरीत शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समेटिएपछि सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखिन्।
पहुँचवाला व्यक्तिहरू समानुपातिक सूचीमा बस्नु राजनीतिक नैतिकता विपरीत भएको उनले तर्क गरिन्। निर्वाचन लड्न सक्ने क्षमता, स्रोत र पहिचान भएका व्यक्तिहरूले नै यो प्रणाली कब्जा गरेको उनको आरोप छ। राउतले लेखेकी छन्, "समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ। तर आज प्रश्न यो हो: यसलाई कब्जा कसले गर्यो? निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन? के यहीका लागि आन्दोलन भयो? के यहीका लागि जनआन्दोलन र रगत बगाइयो?"
उनले सीमान्तकृत समुदायको प्रतिनिधित्वको मुद्दालाई मुख्य रूपमा उठाइन्। आन्दोलनमा पछाडि पारिएका वर्गलाई प्रयोग गर्ने तर सत्ताको अवसर आउँदा सहरका टाठाबाठालाई मात्र अगाडि सार्ने प्रवृत्ति नयाँ भनिएका दलहरूमा पनि देखिएपछि रोष व्यक्त गरिन्। राउत अगाडि भन्छिन्, "सुदूरपश्चिम, मधेस, दलित, जनजाति उनीहरूलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ता र निर्णयको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ मात्र? यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो। आफूलाई ‘वैकल्पिक’ भन्नेहरू झनै जिम्मेवार हुनुपर्ने होइन? पुरानाले गरेको अन्याय दोहोर्याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ?"
विधि, सुशासन र सुधारको एजेण्डा बोकेर उदाएको रास्वपाको समानुपातिक सूचिमा चर्चित कलाकार, खेलाडी र समाजका स्थापित व्यक्तिहरूको बाहुल्यता देखिएपछि बहस अझ धेरै चर्कियो। राजनीतिक रूपमा सामान्य नागरिकलाई बोक्ने दलले अवसरमा सेलिब्रेटी अनुहार समेटिएपछि असन्तुष्टि व्यक्त हुन थाले। अभियन्ता रावतले प्रत्यक्ष निर्वाचनमा होमिन सक्ने सामर्थ्य भएका व्यक्तिहरू समानुपातिकको ‘सुरक्षित बाटो’ बाट संसद् छिर्न खोज्नुले लक्षित वर्गको अधिकार खोसिएको तर्क गरिन्।
उनले थपेकी छन्, "कलाकार, क्रिकेटर, गायकहरूसँग चुनाव लड्ने स्रोत छ, मैदान छ, मिडिया छ। समानुपातिक त तिनका लागि होइन र जसले सधैँ अवसरको ढोका बन्द पाए। अरूको अधिकार खोसेर ‘परिवर्तन’ बेच्ने यो कस्तो राजनीति हो?"
राजनीतिक अपारदर्शी प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति जनताको विश्वास टुट्ने उनको भनाई छ। "यस्तो चरित्रले व्यवस्था बदल्दैन, यस्तो चरित्रले विश्वास मार्छ। र विश्वास मरेपछि कुनै विकल्प बाँकी रहँदैन," उनले लेखेकी छन्।
एकता र सहकार्यको सुखी मतदातासँग साट्न नपाउँदै बलियो ‘वैकल्पिक’ शक्तिको रूपमा हेरिएको रास्वपाले समानुपातिक प्रणालीलाई गिजोल्दा आलोचना खेप्न परेको छ।
पुष १५, २०८२ मंगलबार २२:१४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।