समानुपातिकमा जेनजी शहिद परिवारलाई कांग्रेस-रास्वपाले मात्र सम्झिए
काठमाडौं : फागुन २१ को निर्वाचनको मुख्य कारण भदौ २३ र २४ को जेनजी आन्दोलन नै हो। त्यही भएर नयाँ देखि केही पुराना दलसम्म जेनजी आन्दोलनको जस आफ्नो भागमा पार्ने प्रतिस्पर्धामा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले त बालेन शाहदेखि कुलमान घिसिङसँगसम्म सम्झौता गर्दा जेनजी आन्दोलन लेख्न छाडेन।
तर रास्वपासहितका प्रमुख दलहरूले निर्वाचन आयोगमा बुझाएको १ सय १० जना समानुपातिक उम्मेदवारहरूको सूची हेर्ने हो भने व्यवहार फरक देखिन्छ। त्यो सूचीमा न जेनजीको प्रतिनिधित्वको प्रयास भएको देखिन्छ न त जेनजी शहीद परिवारको।
अपवाद रास्वपा र कांग्रेसले १ सय १० मा एक एक जना भए पनि जेनजी आन्दोलनका शहीद परिवारलाई सम्झिएको छ। रास्वपाले जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडालाई समानुपातिक सूचीमा राखेको छ भने कांग्रेसले शहीद धिरज श्रेष्ठका बाबु नारायण श्रेष्ठलाई।
२२ वर्षका रसिक जेनजी आन्दोलनकाक्रममा नयाँबानेश्वरमा गोली लागेर शहीद भएका थिए। काभ्रेपलान्चोकको पनौती नगरपालिका–१० का उनले होटेल म्यानेजमेन्ट पढेका थिए। धिरज नुवाकोटका हुन्।
सरकारले जेनजी आन्दोलनमा मारिएका ७६ मध्ये ४५ जनालाई शहीद घोषणा गरेका थिए। सरकारसँग जेनजीको तर्फबाट सहमति गर्न समेत शहीद परिवारका सदस्यलाई चयन गरिए पनि समानुपातिकमा भने दलहरूले सम्झिएनन्। न त जेनजी अगुवाहरुले नै चासो लिएको देखियो।
पुष १५, २०८२ मंगलबार २२:०८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।