कांग्रेस हार्न सक्छ, तर निर्वाचनबाट भाग्दैन : डा. कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टी हार्न सक्ने, तर निर्वाचनबाट नभाग्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, "देशमा निर्वाचन हुने अवस्था छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण छ। हामी निर्वाचनबाट भाग्दैनौं। एउटा लोकतान्त्रिक पार्टी हार्छ वा हार्न सक्छ, तर निर्वाचनबाट भाग्दैनौं।"
प्रहरी प्रशासनको मनोबल गिरेको अवस्थामा निर्वाचनको लागि वातावरण तयार गर्न सरकारले काम गर्नुपर्नेमा कोइरालाको जोड छ। "निर्वाचनको लागि सरकारले केही काम त गर्नु पर्यो, शान्ति सुरक्षा दिन सक्नुपर्यो । शान्ति सुरक्षा छ कि छैन भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ र प्रहरी प्रशासनको मनोबल आजको दिनमा धेरै नै गिरेको छ," उनले भने।
निर्वाचन गर्न सबैभन्दा पहिले बुथमा सुरक्षामा खटिने प्रहरीको मनोबल बढाउनुपर्ने उनको भनाई थियो। एमाले-कांग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन नभएको दाबी गर्दै कोइरालाले देशमा अझै जोखिम टरी नसकेको धारणा राखे।
उनले भने, ‘सरकार हटाउनको लागि मात्रै जेनजी आन्दोलन भएको र जेनजीहरुले ज्यान गुमाएको हो त ? एमाले र नेपाली कांग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन भएको हो त ? होइन नि। त्यो विद्रोह आधा मात्र भएको छ। आधा हुन बाँकी नै छ र त्यसमा के के हुनसक्छ ? त्यो कुरा हामीले विचार गर्नुपर्छ।’
पुष १५, २०८२ मंगलबार १८:१७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।