रास्वपासँगको एकताबारे उज्यालो नेपालमा विवाद, कुलमानले एकलौटी निर्णय गरेको भन्दै विद्रोहको चेतावनी

रास्वपासँगको एकताबारे उज्यालो नेपालमा विवाद, कुलमानले एकलौटी निर्णय गरेको भन्दै विद्रोहको चेतावनी

काठमाडौं : पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी व्यक्तिगत रूपमा अध्यक्ष र संरक्षक मिलेर रास्वपासँग पार्टी एकताको निर्णय गरेको भन्दै उज्यालो नेपाल पार्टीका नेताहरूले विद्रोहको चेतावनी दिएका छन्। सह-अस्तित्वसहित मात्र पार्टी एकता हुनसक्ने भनेर पार्टी बैठकमा निर्णय गरेर केन्द्रीय समितिमा छलफलै नगरी संरक्षक कुलमान घिसिङ र अध्यक्ष  अनुपकुमार उपाध्यायले रास्वपासँग पार्टी एकताको सहमति गरेको भन्दै पार्टीका नेताहरूले विद्रोहको चेतावनी दिएका हुन्।

पार्टी एकतामा संरक्षक बसेका कुलमान नेतृत्व, झन्डा र चुनाव चिन्ह स्वीकार गर्दै रास्वपाको उपसभापति बन्न राजी भएका थिए। अध्यक्ष रहेका उपाध्याय भने रास्वपाको समानुपातिक सूचीमा बसेका छन्। रास्वपाको समानुपातिक सूचीमा रहेका डा. महेन्द्र लावती, तुलसा वाइबा, सोमप्रसाद चौधरी र बालिका चौधरीले नै कुलमान भेटेर पार्टी एकतामा असन्तुष्टि जनाएका थिए। लावतीले त समानुपातिक सूचीबाट आफ्नो नाम हटाउन भनिसकेका छन्।

पहिचानवादी नेताको पहिचान बनाएका डकेन्द्रसिंह थेगिमले समेत प्रारम्भमा निर्वाचनमा गठबन्धन गर्ने भनेर कुलमानले पार्टी नै मिसाएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले कुलमानलाई मंगलबार आफूहरूको मुख्य मुद्दा पहिचानको रहेको तर रास्वपासँग भएको सहमतिमा पहिचानबारे केही उल्लेख नभएको भन्दै पार्टी एकता स्वीकार हुन नसक्ने चेतावनी दिइसकेको पार्टीका असन्तुष्ट एक नेताले बताए।

"पार्टी बैठकले उज्यालो नेपाल पार्टीको पहिचानै मेटिने गरी कसैसँग पनि पार्टी एकता नगर्ने भनेर निर्णय गरेको छ। तर संरक्षक र अध्यक्ष मिलेर पार्टीलाई नै गुमराहमा राखेर सहमति गरेछन्," ती नेताले भने " निर्वाचन आयोगमा दर्ता भएको दल हो। कमसेकम पार्टीको केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्नुपर्नेमा गोजीबाट झिकेर दिए जसरी सहमति भयो।" 

समानुपातिक सूचीप्रति पनि पार्टीमा विवाद देखियो। रास्वपामा उज्यालो नेपालको १८ जना समावेश गर्ने भनेर नाम दिइएको तर १४ जनाको मात्र नाम राखिएको एक नेताले बताए। उनीहरूले यसबारे मंगलबार पार्टीका संरक्षक रहेका कुलमानलाई भेटेर धोका भएको भन्दै आपत्ति जनाएका छन्।

केन्द्रीय समितिमा छलफल समेत नगरी एकलौटी रूपमा भएको निर्णय मान्य नहुने भन्दै उनीहरूले उज्यालो नेपाल पार्टी रास्वपामा विलय हुन नसक्ने भन्दै घिसिङको घरबाट निस्किएर छलफलमा जुटेका थिए।

पुष १५, २०८२ मंगलबार १७:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।