ईशान मृत्यु प्रकरण : प्रहरीको निष्कर्ष 'दुर्घटना', परिवारको दाबी 'सुनियोजित हत्या'
बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिका-३, रुद्रपुरका १७ वर्षीय ईशान शर्मा पौडेलको मृत्युलाई परिवारले हत्या भएको दाबी गरेका छन्। पुस ३ मा उनको शव घर नजिकैको नालीमा फेला परेको थियो। यसलाई प्रहरीले दुर्घटना भन्दै प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेपछि मंगलबार पत्रकार सम्मेलन गरेर ईशानको परिवारले दुर्घटना मान्न अस्वीकार गरे।
ईशानका ठूलो बुवा पुष्पराज शर्माले छोराको मृत्यु शंकास्पद रहेकाले घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरे। ईशानको मृत्यु दुर्घटनाबाट नभई हत्या भएको उनको दाबी छ।
"घटनाको बस्तुगत अवस्था, शवको प्रकृति, घटना स्थलमा भएको अवस्थाले ईशानको मृत्यु गाडी दुर्घटनामा भएको होइन, त्यो हत्या नै हो। यसको छानबिन चुस्त होस," पुष्पराजले भने।
पुस २ गते विद्यालयमा तेकान्दो सिकाएर घर आएका उनी साँझ साढे ५ बजे साथीसँग जिम जाने भन्दै थकाली चोकतिर गएका थिए। त्यसपछि साँझ करिब साढे ७ बजे ईशान रुद्रपुरकै सुनगाभा चोकबाट साथीसँग बिदा भएर हातमा जुत्ता लिएर घरतर्फ हिँडेको सिसिटिभी फुटेजमा देखिएको छ।
सोही दिन घर नआएका ईशानलाई परिवारले साथीकोमा बसेको भन्दै खोजिबिन गरेन। अर्को दिन उनी विद्यालयमा समेत नगएपछि मात्र परिवारले खोजी सुरु गरेको थियो। ईशानका ठूलो बुवा पुष्पराजले पनि अर्को दिन मात्र इलाका प्रहरी कार्यालय रुद्रपुरमा ‘बालक हराएको’ सूचना दिन पुगेको बेला मात्र ईशानको शव भेटिएको खबर पाएको बताए।
मृतक ईशानका बुवा अर्जुन शर्माले उनको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रूपमा हत्या गरिएको दाबी गरे। उनले वास्तविक दोषीलाई उन्मुक्ति दिन नक्कली (डमी) दोषी खडा गरिएको दाबी समेत गरे।
"देब्रे खुट्टा भाँचिएको छ। बाहिर रगतका थोपा केही छैन। ब्रेक लागेको संकेत छैन। धुलो माडिएको छैन। हिलो घसारिएको छैन। एक्कासि टिपेर लगेर राखिएको जस्तो छ। टाउको गम्भीर चोट, आँखामा चोट छ। दुर्घटनामा यस्तो हुँदैन। आँखाको नानीमा लक्षित गरेर प्रहार गरिएको छ," उनले भने।
उनले यस घटना हत्या नै हो भन्ने प्रशस्त कारणहरूसमेत रहेको तर्क गरे।
"हातमा जुत्ता समाएर दौडिएको अन्तिम फुटेजमा देखिएको छ। हातमा समाएको जुत्ता पोलको फेदमा सम्हालेर राखिएको अवस्थामा भेटिएको थियो। खुट्टामा लगाइएको जुत्ता छरिएको अवस्थामा भेटियो। मोबाइल त्यो दिन खोज्दा भेटिएन। तर अर्को दिन साढे ११ बजे अम्बाको बोटमुनि मोबाइल भेटियो। यी हरेक कुराले हत्यालाई लुकाउन नक्कली दोषी ‘डमी’ तयार गरिएको हो,"उनले दाबी गरे।
ईशानकी आमा रमा शर्माले आफ्नो बुढेसकालको सहारा लट्ठी भाँचिएको भन्दै छोरालाई न्याय दिन माग गरिन्।
"न्याय नपाएकी आमा हुँ म। मेरो कोख रित्तियो। मेरो बुढेसकालको सहारा मेरो लट्ठी भाँचियो। मेरो ईशान गयो। यहाँ भएका लाखौ ईशान मर्न भएन," उनले भनिन्।
उनले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गरिन्। प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए। उनको शव घरभन्दा डेढ सय मिटर टाढा नालीमा भेटिएको थियो। उनको टाउकोको पछाडि भागमा चोट थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले ईशानको मृत्यु दुर्घटनाका कारण भएको प्रारम्भिक रिपोर्ट आएको भन्दै आफूहरू अझै अनुसन्धानमै रहेको बताए। कुनै व्यक्तिबाट ईशानको हत्या भएको नभई लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो।
फोर्स चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
"दुर्घटना गराएको चालकले स्वीकार गरेको छ। दुर्घटना भएपछि भागौं भनेर उक्साउनेलाई समेत हामीले नियन्त्रणमा लिएका छौं," उनले भने। घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
पुष १५, २०८२ मंगलबार १६:३४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।